फिचर

ह्वाइट हाउस- कोरोना भाइरसको नयाँ 'हटस्पट'

न्यूयोर्क

विश्वकै सबैभन्दा शक्तिशाली राजनीतिक केन्द्रको रुपमा रहेको अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस कोरोना भाइरसको नयाँ ‘हटस्पट’ बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पति सहित ह्वाइट हाउसमा कार्यरत तथा निकटका दर्जन बढिलाई संक्रमण पुष्टि भइ सकेको हो ।

ह्वाइट हाउसकी सिनियर कर्मचारी होप हिक्सलाई बुधबार भाइरस लागेको पुष्टि भएपछि ट्रम्प दम्पतिमा पनि संक्रमण देखिएको थियो । ह्वाइट हाउसकी कम्युनिकेसन विभागकी डाइरेक्टर केली म्याकेनेनी पाँच जना कर्मचारीलाई पनि भाइरस लागेको पुष्टि भइ सकेको छ । यस्तै ट्रम्प प्रशासनबाट गत महिना राजिनामा दिए पनि एवं अघिल्लो साता राष्ट्रपतिय वहसका लागि ट्रम्पलाई सहयोग गर्न ह्वाइट हाउस छिरेकी केल्यानी कोन्वेलाई पनि शुक्रबार भाइरस लागेको पुष्टि भयो ।

बहस तयारीकै लागि ह्वाइट हाउस गएका न्यूजर्सीका पूर्व गभर्नर कृष क्रिष्टी पनि भाइरस पुष्टि भएपछि अस्पताल भर्ना भएका छन् । ह्वाइट हाउससँग चर्कै आउजाउ भएका रिपब्लिकन सिनेटरहरु माइक लि, थोम टिलिस एवं रोन जोनसनलाई पनि भाइरस लागेको छ । ट्रम्पका सहयोगी निकोलस लुमा, उनको क्याम्पेन म्यानेजर विल स्टेफेन, रिपब्लिकन नेशनल कमिटी चेयर उमन रोन्ना म्याकडेनियल पनि भाइरस संक्रमणमा परेर आइसोलेसनमा छन् । मंगलबार ट्रम्पका अर्का सहयोगी स्टिफिन मिलरलाई भाइरस लागेको पुष्टि भएको हो । ह्वाइट हाउसका तीन रिपोर्टर लगायत केही कर्मचारी पनि संक्रमित छन् ।

विश्वका अरु कुनै पनि राजनीतिक केन्द्र एवं सरकार यतिबिघ्न संक्रमणमा परेका छैनन् । ह्वाइट हाउस मात्र होइन अमेरिका संक्रमण र मृतकको संख्यामा पछिल्लो पाँच महिना यता विश्वकै एक नम्बरमा छ । मंगलबारसम्ममा दुई लाख १० हजार बढिले अमेरिकामा ज्यान गुमाइ सकेका छन् भने संक्रमितको संख्या ७५ लाख पुग्न लागेको छ ।

यति हुँदा पनि ट्रम्प प्रशासन भाइसरप्रति गम्भिर कहिल्यै बनेन । डेमोक्रेटिक राष्ट्रपतिय प्रत्याशी जो बाइडेनले संक्रमणबाट बच्न मास्क लगाउँदा ट्रम्पले गिज्याउँदै आएका थिए । उनी बिना मास्क र सामाजीक दुरी हजारौँ कार्यकर्ता भेला गरेर चुनावी सभा समेत गर्दै थिए । चुनावी क्याम्पेनमा मात्र होइन सरकारी काम कारबाहीमा पनि ट्रम्प प्रशासनका अधिकारीले सतर्कता अपनाउन हेलचेक्राइँ आएका थिए । अघिल्लो शनिबार ह्वाइट हाउसमा सर्बोच्च अदालतका लागि नयाँ न्यायाधिश मनोनयनको कार्यक्रम राखिएको थियो । त्यहाँ बोलाइएका २०० हाराहारी पाहुन बिना मास्क र सामाजीक दुरी आपसमा टाँस्सिएर बसेका थिए । अहिले भाइरस लागेका अधिकांश अधिकारी त्यहाँ उपस्थित थिए ।

अस्पतालबाट ह्वाइट हाउस फर्केपछि बार्दलीमा मास्क फुकाल्दै ट्रम्प। तस्वीरः एनबिसी न्यूज

त्यहीँबाट भाइरस विस्तार भएको अनुमान गरिएको छ । तर, त्यहाँ आएका व्यक्तिको ‘कन्ट्याक्ट ट्रेसिङ’का लागि सेन्टर फर डिजिज कन्ट्रोल  (सिडिसी)ले गरेको अनुरोध ह्वाइट हाउसले अस्वीकार गरेको छ । चार दिन अस्पताल बसेर फर्किएका ट्रम्पले ह्वाइट हाउस छिरेसँगै भाइरसबारे अफबाह फैलाउने नयाँ चरण सुरु गरि सकेका छन् । अस्पतालमै रहँदा पनि उनले आफ्ना सुरक्षाकर्मीको स्वास्थ्यलाई ख्याल नगरि सडकमा भेला भएका आफ्ना समर्थकलाई हात हल्लाउन गाडीमा यात्रा गरेका थिए । ह्वाइट हाउस फर्केपछि बार्दलीमा पुगेर हतार हतार मास्क खोलेका थिए । आफु नजिकै रहेका दुई फोटोग्राफरलाई हुने सक्ने संभावित संक्रमणको जोखिम प्रति कुनै मतलव गरेका थिएनन् ।

लाखौँ अमेरिकी ज्यान गुमाइ सकेपनि भाइरसले केही नगर्ने हुँदा नडराउन आह्वान गर्दै उनले भिडियो म्यासेज जारी गरेका छन् भने धारा प्रवाह ट्विट गर्न थाली सकेका छन् । बर्षेनी हिउँदे फ्लूले एक लाख हाराहारीको मृत्यु भइ रहेको अवस्थामा कोरोना भाइरसबाट नडराउनु पर्ने उनको दावी छ । तर, पछिल्लो ५० बर्ष यता फ्लूबाट कहिल्यै एक बर्षमा लाख बढिको मृत्यु नभएको जनस्वास्थ्य विज्ञहरुको भनाइ छ । ट्रम्प राष्ट्रपति निर्वाचित भइ पछिको चार बर्षमा फ्लूबाट मारिएका भन्दा कोरोना भाइरसबाट सात महिनामा धेरैले ज्यान गुमाएको उनीहरुले बताएका छन् । तर, यो तथ्य लुकाएर कोरोना भाइरसलाई कमजोर पुष्टि गर्ने ट्रम्प ध्याउन्न छुटेको छैन् ।

चुनाव आउन चार साता मात्र बाँकी रहेको अवस्थामा ट्रम्प प्रतिश्पर्धी बाइडेन भन्दा ठूलो अन्तरले पछि देखिएका छन् । भाइरसलाई कमजोर सावित गरेर आफू तर्फ मतदाता तान्ने उनको ध्याउन्न सफल हुने संभावना झन् झन् कमजोर बन्दै गएको छ ।