खेलकुद

ब्याटिङ चल्न नसकेपछि चेन्नाई पराजित

दुबई । आइपीएलमा सबैभन्दा खतरनाक ब्याटिङ लाइनअप भएको टोली मानिन्छ, चेन्नाई सुपर किंग्स । तर, बुधबार यही टीम कमजोरी ब्याटिङ गर्दै पराजित हुन पुगेको छ । कोलकाता नाइट राइडर्सले चेन्नाई सुपर किंग्सलाई १० रनले हराएको हो ।

आईपीएल क्रिकेट अन्तर्गत गतराती सम्पन्न खेलमा कोलकाताले चेन्नाईलाई जितका लागि १६८ रनको चुनौति दिएको थियो । चेन्नाईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदा मात्र १५७ रन जोड्यो । कोलकाताको जितमा ओपनर राहुल त्रिपाठीले सर्वाधिक ८१ रन बनाए । ५१ बल खेलेको उनले ८ चौका र ३ छक्का हानेका थिए ।

चेन्नाईलाई जितका लागि अन्तिम ओभरमा २६ रन चाहिएको थियो । आन्द्रे रसेलले मात्र १५ रन खर्चिए । चेन्नाईले पहिलो १० ओभरमा एक विकेट मात्रै गुमाएर ९० रन बनाएको थियो । तर त्यसपछिको बाँकी १० ओभरमा उसको ब्याटिङलाई कोलकत्ताका बलरले खलबलाइदिए । चेन्नाइका लागि शेन वाटसनले ५० रन बनाए ।

कप्तान महेन्द्र सिंह धोनीले ११ रन मात्रै बनाउन सके । अम्बाती रायडुले ३० तथा फाप डु प्लेसिस र साम कुरानले समान १७–१७ रन जोडे । रविन्द्र जडेजा २१ रनमा नटआउट खेले ।