खेलकुद

आइपीएल : साविक विजेता मुम्बईको विजयी यात्रा जारी, राजस्थानको रोमाञ्चक जित

Photo Source : Outlook india

दुबई । जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा आइतबार दुई खेल भए । खेलमा मुम्बईले पाँचौ जित हात पार्दा राजस्थान रोयल्स रोमाञ्चक खेलमा विजयी भएको छ । यूएईमा गत राति भएको खेलमा नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने आबद्ध रहेको दिल्ली क्यापिटल्सलाई मुम्बईले ५ विकेटले हराएको हो । यद्दपी सन्दीप यो वर्ष अझै प्लेइग ११ मा परेका छैनन् । शेख जायद क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य मुम्बईले १९ ओभर ४ बलमा ५ विकेट गुमाउँदै पुरा पूरा गर्यो ।

मुम्बईको जितमा क्विनटन डी कक र सूर्यकुमार यादवले अर्धशतक बनाए । दुवै खेलाडीले समान ५३ रन बनाए । इशान किशनले २८ रन बनाए । दिल्लीका कागिसो राबडाले २ विकेट लिए । जितसँगै मुम्बई तालिकाको शीर्ष स्थानमा उक्लियो ।

आइतबार नै भएको अर्को खेलमा सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै राजस्थानले तेस्रो जित निकाल्यो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा सनराइजर्सले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ५८ रन बनाएको थियो ।

उसका लागि कप्तान डेभिड वार्नरले ४८ रन र मनिष पाण्डेले ५४ रन जोडे । एक सय ५९ रनको लक्ष्य पछ्याएर मैदानमा उत्रिएको राजस्थानले एक बल बाँकी छँदा फेला पार्यो । टीमका लागि राहुल तेवतियाले ४५ र रियान परागले ४२ रनको नटआउट इनिंग खेलेका छन् ।