डायस्पोरा

न्यूह्यामसर नेपाली खुल्ला टेनिसको उपाधि भट्ट र हुमागाईलाई

न्यूह्यामसर

न्यूह्याम्पसर राज्यमा स्थापित नेपालीभाषीहरुको छाता संस्था न्यूह्यामसर नेपाली समाजले आयोजना गरेको खुला टेनिस प्रतियोगिता २०२० (पुरुष सिंगल्स) को उपाधि सरोज भट्टले जितेका छन् ।

शनिबार सम्पन्नफाइनल खेलमा किरण हुमागाईलाई ६–४, ५–७, ६–४ को सेटमा पराजित गर्दै भट्टले सिङ्गल्सतर्फको उपाधि हासिल गरेका हुन् । यस्तै प्रतियोगिताको डबल्स संस्करणमा मनिश हुमागाई र किरण हुमागाईको जोडी बिजयी भएको छ । उनीहरुले फाइनलमा रविन थापा र दिपकअमात्यको जोडीलाई ६–३, ५–७ र ६–४ को अन्तरमा पारजित गरेका हुन् ।

तीन सातासम्म चलेको प्रतियोगिको सिंगल्स तर्फ १८ जना र डबल्स तर्फ नौ जोडी खेलाडीहरुले भाग लिएका थिए । राज्यको म्याम्चेष्टर स्थित टेनिस कोर्टमा सम्पन्न प्रतियोगिताका विजयी एवं सहभागी खेलाडीलाई फाइनलपछि आयोजित समारोहमा न्यूह्याम्पसर नेपाली समाजकाअध्यक्ष सोम गुरुङले ट्रफी एवं प्रमाणपत्र वितरण गरे । यसैगरी प्रतियोगिता अवधिभर एम्पायरको भूमिका निर्वाह गर्ने वीर शाह, विनित शाह, गोविन्द गुरुङ र प्रतियोगिता संयोजक दिनेश गुरुङलाई प्रमाणपत्र एवं मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा समाजका अध्यक्ष गुरुङले खेल मार्फत राज्यमा बसोबास गर्ने नेपालीभाषीहरुमा भाइचारा अभिबृद्धि गर्ने समाजको अभियानबारे चर्चा गरेका थिए । ‘हामीले हरेक बर्ष फुटबल, टेनिस लगायतका खेलकुद प्रतियोगिताआयोजना गरिरहेका छौँ, उनले भने ‘यसले न्यूह्याम्पसर मात्र नभइ अन्यछिमेकी राज्यमा बसोबास गर्ने नेपालीभाषीहरुबीच पनि आत्मियता र भाइचारा बढाएको अनुभव गरेका छौँ ।’ टेनिस प्रतियोगितामा बर्षेनीबढ्दो सहभागिताले नेपालीहरुले आफ्नो समुदायमा मात्र नभइ अरु खुलाप्रतिस्पर्धामा पनि छिटै आफ्नो पहिचान स्थापित गर्ने विश्वास आफुले लिएको उनको भनाइ छ ।

प्रतियोगितामा राज्यका विभिन्न ठाउँहरुमा बसोबास गर्ने विभिन्न उमेर समूहका पुरुषहरुको सहभागिता रहेको थियो । ‘सहभागीहरुको संख्या बर्षेनी बढ्दो छ’ विगत केही बर्षदेखि खेलकुद प्रतियोगिताको संयोजन गर्दै आएका समाजका सदस्य दिनेश गुरुङले भने ‘नयाँ पिँढीका भाइबहिनीहरुले पनि टेनिस खेलप्रति उत्साहजन सहभागिता जनाउँदै आएका छन् ।’

यसबर्ष कोरोना भाइरस महामारीबीच प्रतियोगिता आयोजना भएकाले सामाजीक दूरीलगायत सुरक्षाका उपायहरुमा विषेश ध्यान दिइएको थियो ।