मनोरञ्जन

शक्तिपिठहरू कात्तिक १ देखि खुल्ने, पूजाआजा बाहेकका गतिविधि बन्द

काठमाडौं । कोरोना जोखिमका कारण बन्द रहेका सबै देविदेवताका शक्तिपीठहरु कात्तिक १ गतेदेखि खुल्ने भएका छन्।

काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवि, भाटभटेनी आकाशे देवीलगायतका शक्तिपीठहरु कात्तिक एक गतेदेखि खुल्ने भएका हुन्।

दशैंको बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपीठहरु खोल्नुपर्ने बाध्यता रहेको मन्दिर व्यवस्थापकहरु बताउँछन् । मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सचिव राजाराम कपालीले दशैंको बेला विशेष पूजाआजा हुने भएकाले मन्दिर खुला गर्नुपर्ने बाध्यता भएको बताए।

विभिन्न गुठियारहरुको विशेष पूजा हुने र जात्रासमेत निकाल्नुपर्ने प्रचलन रहेकाले पनि पूजाका लागि खुल्ला गरिनुपर्ने बताए। तर सरकारबाट अहिलेसम्म कुनै निर्णय आइनसकेको उनले बताए।

तर पनि स्थानीय भक्तजनहरुको आग्रहमा कात्तिक एक गतेदेखि धेरै भिड नहुने गरी भक्तालुका लागि खुल्ला गरिने बताए। गुठियारहरुसँग पनि जात्रा ननिकाल्ने तर विशेष पूजाआजा गर्ने सहमति भइसकेको उनले बताए।

कोभिड १९ संक्रमणको जोखिम भएसँगै सरकारले कुनै पनि मन्दिर क्षेत्रमा भक्तालुका लागि पूजाआजा रोक्ने निर्णय गरेको थियो। यससँगै काठमाडौं उपत्यकाका मूख्य शक्तिपीठहरुमा समेत नियमित पूजाआजा बाहेकका सबै गतिविधि बन्द गरिएको छ।

अन्य क्षेत्रलाई खुल्ला गरिए पनि मन्दिरमा धेरै भिड हुने भएकाले सरकारले अहिलेसम्म मन्दिरलाई खुल्ला गर्ने निर्णय गरिसकेको छैन्। तर, अधिकांश मन्दिरहरु कात्तिक एक गतेदेखि सीमित रुपमा भएपनि खुल्ला गर्ने तयारीमा जुटेका छन्।