बिचार

रमेश प्रसाईंको बोलिबाण र शव्द चयनको पाठ

योगेश आदी / [email protected]

मेरो अधिकार कति ? मलाई के के भन्न मिल्दैन । कुन सम्बोधन मेरो अपमान हो ? मेरो बारेमा के के कुरा खोल्न म बाध्य छैन ? यो सबै व्यक्तिको कानूनन: अधिकार हो ।

चेतना र विवेकको स्तरले आफ्नो महत्व बोध गराएपछि आत्मसम्मानित जीवनको शुरुवात हुन्छ । आशय गलत नभएपनि कतिपय अवस्थामा हामीले गलत विशेषणको प्रयोग गरिरहेका हुन्छौं – मख्ख पार्न वा फाइदा लिन ।

एउटा सत्य दृष्टान्त; (साभार: युट्युब) माइकबाट आवाज आयो; ‘अब कविता वाचन गर्न मञ्चमा आउँदै हुनुहुन्छ, दृष्टि बिहिन भाइ रमेश प्रसाई’ । रमेश प्रसाईले माइकमा फुकेर आफू र माइकको दुरी कन्फर्म गर्यो ।

सबलाङ्ग र अपाङ्ग व्यक्तिको नामसँग जोडेर सम्बोधन गरिने विषय होइन, त्यो अपमान हो । त्यस्तै नामको अगाडि भएभरको विशेषण जोड्नु चाप्लुसी हो ।

रमेश; “धन्यबाद, दृष्टि सम्पन्न उद्घोषकज्यू । आज मलाई साह्रै रमाइलो लागिराको छ । मेरो दृष्टि छैन, उहाँले मलाई दृष्टि बिहिन भाइ भन्नु भो । मेरो नाम भन्दा पहिला मेरो शारीरिक विशेषता बताउनु भो । अब मलाई पनि सजिलो हुने भो, म त देख्दिन । यहाँ कोही कपाल झरेको आयो भने उहाँले आदरणीय ताक्लू कवि फलानो भनेर भन्नु हुनेछ । कोही दाँत झरेको आयो भने आदरणीय थोते फलानो भन्नुहुन्छ होला” । 

रमेश प्रसाईको भनाईको आसय थियो, सबलाङ्ग र अपाङ्ग व्यक्तिको नामसँग जोडेर सम्बोधन गरिने विषय होइन, त्यो अपमान हो । त्यस्तै नामको अगाडि भएभरको विशेषण जोड्नु चाप्लुसी हो । काम र योगदानको आधारमा एकापसप्रतिको दृष्टिकोण बनाई सकेका हुन्छन् । आदरको लागि एउटा मुख्य पद जोड्दा पुग्छ । काम र प्रस्तुतिले नै व्यक्तिको परिचय दिइरहेको हुन्छ ।

राजनैतिक र आर्थिक परिवर्तनले मात्र समाज र देश बदलिदैन । देश भनेको जनता हो । जनता – जनता बीचको पारस्परिक समझदारी र सामुदायिक अमन चयन बिना सभ्य समाजको निर्माण हुदैन ।

अर्को दृष्टान्त; हरेकदिन फेसबुकमा समवेदना – श्रद्धाञ्जलीहरु देख्ने गर्छु । कसैकसैले मृत्युसँग जोडिएको भावात्मक उद्धरणमा समेत चाप्लुसी प्रदर्शन गर्छन् । जस्तै; “हाम्रो लायन्स क्लवका संस्थापक सदस्य तथा अमेरिका – रसुवा समाजका अध्यक्ष आदरणीय बरिष्ठ समाजसेवी अनन्य मित्र अधिवक्ता श्री हरिदास लुईटेलज्यूका ममतामयी सासुआमा स्व. चन्द्रमाया कुईंकेलको निधनले मर्माहत भएको छु । यो शोकको घडीमा परिवारजनमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु” । यति धेरै नतमस्तक कसैले कसैप्रति हुनु पनि चाप्लुसी हो । मृतकको नाममा जिउँदोको पदको विज्ञापन सिवाय केही होइन । मुर्गी भन्दा मसला महंगो पर्यो भने पच्दैन ।

एकदिन मैले क्षतिपूर्ति दिलाउने वकिलसँग पत्रिकामा विज्ञापन पाउने आशामा बातैपिच्छे सर सर प्रयोग गरेर बिनम्रता देखाएँ । अलिक बढी नै फ्लाटरिङ् (चिप्लो घस्ने) भएछ कि सायद उनले भन्यो; मलाई ‘ब्रस’ भने पुग्छ, मेरो नाम ब्रस हो । मैले ‘मिस्टर ब्रस’ भन्न थालें । पुन: भन्यो; “म तेरो साथी जस्तै हुँ, ब्रस भने पुग्छ” । मैले मरिगए ‘ब्रस’ मात्र भन्न सकिन । हामी मख्ख पारेर काम लिन सकिन्छ भन्ने परिवेश र सिकाईमा हुर्केका रहेछौं । 

हामी अधिकाँश फाइदा हुने अवस्था परे; म पुरेत, म दलित, म क्षेत्रीय, म घरानीया ठकुरी, म उत्पिडित, म राणा परिवार इत्यादी भन्न पर्दैनौं । जातसँग जोडेर आफूलाई फाइदा हुने अनुकुल प्रतिकुल नापेर प्रस्तुत हुन्छन् । चेतनाको स्तर जतिसुकै बढेको जस्तो देखाएपनि क्षमता र योग्यताले भन्दापनि जातलाई विशेषणको रुपमा नामको अगाडि थपेर भन्न समेत पछि पर्दैनौं । एउटै थरका वरिपरी छन् भने, ‘हामी सबै फलानो थरका हौं ‘भनेर मानवीय भन्दापनि जातीय भावनामा हराउँछौं ।

राजनैतिक र आर्थिक परिवर्तनले मात्र समाज र देश बदलिदैन । देश भनेको जनता हो । जनता – जनता बीचको पारस्परिक समझदारी र सामुदायिक अमन चयन बिना सभ्य समाजको निर्माण हुदैन । सभ्य समाजको लागि आपसी सम्बोधन र जायज मानवीय सम्मानको जरुरी पर्दछ ।