विश्व

भारतमा गाडी विक्री २६ प्रतिशतले बढ्यो,एक महिनामै बिक्यो पौन ३ लाख युनिट कार

काठमाडौं । भारतमा यात्रुबाहक सवारी साधनको विक्रीमा सेप्टेम्बरमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा २६.४५ प्रतिशतले वृद्धि देखिएको भारतीय सवारी उत्पादक समाज (एसआइएम) ले जानकारी गराएको छ ।

उक्त औद्योगिक समाजका अनुसार सेप्टेम्बरमा भारतले २ लाख ७२ हजार २७ थान कार विक्री गरेको उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा २ लाख १५ हजार १२४ थान विक्री भएको थियो ।

एसआइएमको तथ्याङ्कमा सेप्टेम्बरमा कारको विक्री अघिल्लो वर्षको सोही महिनासम्मको तुलनामा २८.९२ प्रतिशतले वृद्धि भएको र यातायातका लागि प्रयोग हुने जीप तथा अन्य सार्वजनिक सवारी साधनको विक्री २४.५० प्रतिशतले बढेको उल्लेख छ । त्यसैगरी भ्यान विक्री दरमा १०.६४ प्रतिशतले वृद्धि भएको छ ।

यसैबीच भारतमा सेप्टेम्बरमा तीन पाङ्ग्रे सवारी साधनको विक्रीमा अघिल्लो वर्षको तुलनामा ७१.९१ प्रतिशतले कमी आएको र दुई पाङ्ग्रे साधनको विक्री ११.६४ प्रतिशतले बढेको छ ।

एसआइएमले यो वर्षको गत वर्षको सेप्टेम्बरको तुलनामा सवारी साधन र तीन पाङ्ग्रे साधनको निर्यातमा क्रमशः ३५.८९ प्रतिशत र ५.३५ प्रतिशतले कमी आएको जनाएको छ । दुई पाङ्ग्रे सवारी साधनको समग्र निर्यातमा ९.१७ प्रतिशतले कमी देखिएको छ । एजेन्सी