समाचार

बजार अनुगमन तीव्र, १ सय ३७ पसल कारवाहीमा ७८ लाख राजस्व संकलन

काठमाडौं । सरकारले आपूर्ति व्यवस्थालाई प्रभावकारी र बजारलाई व्यवस्थित बनाउन आफ्नो भूमिकालाई थप सक्रिय बनाउँदै लगेको छ ।

चाडवाड नजिकिएसँगैं सरकारले स्वच्छ, सर्वसुलभ दरमा उपभोग गर्न पाउने नागरिकको अधिकारको रक्षार्थ आफूलाई दरिलोसँग उभ्याएको छ ।

पछिल्लो समय सरकारले उपभोक्तामाथि विभिन्न प्रकारले ठगी गर्ने व्यावसायिक फर्ममाथिको अनुगमन र कारबाहीलाई तीव्र पारेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनको क्रममा कानून र मापदण्डविपरीत कार्य गर्ने बढी कारबाहीमा परेका छन् ।

विभागका तथ्यांकअनुसार असोज १ देखि ३० गतेसम्म गरेको बजार अनुगमनका क्रममा कानून र मापदण्डविपरीत कार्य गर्ने १३७ पसललाई कारबाही गरेको छ ।

जसबाट जरिवानास्वरूप ७८ लाख ५७ हजार राजस्व असुल भएको विभागले जनाएको छ । १ महिना अवधिमा ८०१ फर्मको अनुगमन गर्दा १३७ फर्म कारबाहीमा परेको हो ।

अनुगमनका क्रममा ९८ हजार ७८२ रुपैयाँ बराबरको खान अयोग्य तथा म्याद सकिएको खाद्य वस्तु नष्ट गरिएको थियो ।

अन्य जिल्लाका तुलनामा सबैभन्दा धेरै काठमाडौं उपत्यकाभित्र सञ्चालन गरिएका फर्म नै कारवाहीमा परेका छन्। गैरकानूनी व्यापारिक क्रियाकलाप गर्नेमध्ये सबैभन्दा धेरै फलफूल तथा तरकारी पसललाई जरिवाना गरिएको छ ।

३३ ओटा फलफूल तथा तरकारी पसलको अनुगमन गर्दा २२ पसललाई कारबाही गरिएको थियो । कारबाहीबाट १४ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

यसैगरी ४५ पानी उद्योगको अनुगमन गर्दा १४ उद्योगलाई कारबाही गरिएको छ, जसबाट १४ लाख रुपैयाँ जरीवाना संकलन भएको विभागले बताएको छ ।

विभागका अनुसार अनलाइन पसलबाट ५ लाख ८० हजार, औषधि पसलबाट ५ लाख १५ हजार, खाद्य तथा किराना पसलबाट ९५ हजार र गार्मेन्टबाट ५० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

यसैगरी ग्यास पसलबाट १ लाख, पार्टी प्यालेसबाट ३ लाख, मार्टबाट ५ लाख र मासु पसलबाट ३ लाख, रेष्टुराँबाट २ लाख रुपैयाँ राजस्व असुली भएको छ ।