समाचार

आज दशैंको सातौ दिन, फुलपाती भित्राइदै

Pic : Hamropatro

काठमाडौं । आज बडा दशैंको सातौं दिन अर्थात् फूलपाती पर्व मनाइदैछ । यस दिन घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।

आज फुलपातीको दिन नेपाली सेनाले टुडिखेलमा गर्ने विषेश हर्षबडाईको कार्यक्रमलाई औपचारिकता मात्र दिइएको छ । शक्तिपिठहरुमा समेत परम्परागत रुपमा फूलपाती भित्राइएको छ । तर, आज भिडभाड भने गरिएको छैन ।

आज भित्राइने फूलपाती अन्तर्गत केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकीदेवीको आह्वान गरी पूजा गर्ने प्रचलन रहेको छ ।

आजदेखि नेपालमा दशैंका लागि सार्वजनिक बिदा समेत भएको छ । सरकारी तथा निजी कार्यालय बन्द भएका छन् ।