समाचार

आज दशैंको महानवमी, पशुबली र आरधना गरी मनाइदै

काठमाडौं । आज दशैंको नवौं दिन, महानवमी धुमधामसाथ मनाइदैछ । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वका दिन दुर्गा भवानीको पूजा आराधना र पशुबलिसहित मनाइन्छ । यो दिन शक्तिपिठहरुमा बली दिने गरिन्छ । तर, यो वर्ष भने कोरोना भाइरसको संक्रमणका कारण पूजा प्रभावित भएको छ ।

अधिकांश शक्तिपिठमा बली रोकिएको छ । यस वर्ष नियमअनुसार मनाइने पूजा मात्र आयोजना गरिएको छ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा चढाउने गरिन्छ ।

दशैंघर, कोतसहित विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरेर मनाइन्छ ।

महानवमी तिथिका दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई मारेको उत्सवका रुपमा महानवमी पर्व धुमधामका साथ मनाइन्छ । शक्तिपीठमा हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिएर मनाइन्छ ।

महानवमीका दिन बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइने प्रचलन छ । तर, यो वर्ष भने कोरोना भाइरस संक्रमणका कारण बलि रोकिएको हो ।