समाचार

एक प्रेमिकाका विषयमा तीन जनाबीच झडप, एकको मृत्यु

भक्तपुर । भक्तपुरमा एक प्रेमिकाको विषयमा भएको झगडाले उग्ररुप लिँदा तीन जना साथिबीच झडप भएको छ । यस क्रममा एक जनाको ज्यान गएको छ । भक्तपुर नगरपालिका–१ इटापाकेस्थित दुवाल मेटल कारखानामा काम गर्ने तीन जना भारतीय मजदुरबीच मदिरा सेवनपछि प्रेमिकाको विषयलाई लिएर विवाद भएको प्रहरीले जनाएको छ ।

सोही क्रममा झडप भएको र त्यसले उग्ररुप लिँदा एक जनाको हत्या भएको पाइएको छ । घटनामा भारत उत्तर प्रदेश जयंतिपुर रोड अलि मस्जित मुरादावाद घर भई सोही कारखानामा पित्तलको भाँडा बनाउने ३५ वर्षीय शाहिव हुसैनको मृत्यु भएको छ ।

प्रहरीका अनुसार शाहिवको हत्या अभियोगमा शाहिवसँगै काम गर्ने दुई जना भारतीय मजदुर भारत उत्तर प्रदेश मुरादाबाद कुन्दरकी घर भई हाल दुवाल मेटल कारखाना बस्ने १९ वर्षीय सानु अन्सारी र भारत उत्तर प्रदेश मुरादाबाद मोहलपुर घर भई सोही कारखाना बस्ने २३ वर्षीय सलमान खान पक्राउ परेका छन् ।

उनीहरुले शनिबार राति सँगै बसेर मदिरा सेवन गरेका थिए । त्यसपछि राती ९ बजे कारखाना फर्कने क्रममा शाहिव, सानु र सलमानबीच एक प्रेमिकाका विषयमा विवाद भएको हो । प्रहरीका अनुसार हुसेनले अनुचित शब्द बोलेको र त्यसक्रममा विवाद उत्पन्न भएको बताइएको छ । त्यसपछि सानु र सलमानले शाहिदको अनुहार र टाउकोमा ढुंगा प्रहार गरेका थिए ।


शाहिदको शव आइतबार बिहान इटापाकेको प्लानिङस्थित नरकटघारी खोल्सामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले तालीमप्राप्त कुकुरको सहायतामा अपराधीको खोजी गरेको थियो ।

प्रहरीले सलमान र सानुको कोठामा खानतलासी गरी दुवै जनाको कोठाबाट रगत लागेको लुगा र जुत्ता फेला परेपछि पोल खुलेको थियो । दुबै जनाले हत्या स्वीकार गरेका छन् ।