समाचार

खोटाङमा ट्याक्सी दुर्घटनामा तीनको मृत्यु

खोटाङ । खोटाङमा ट्याक्सी दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार सोमबार साँझ भएको दुर्घटनामा तीन जनाको ज्यान गएको हो । चार जना घाइते भएका छन् । ट्याक्सी चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको ट्याक्सी बराहापोखरी गाउँपालिका–५ सोह्रखानीमा सोमबार साँझ सडकबाट झन्डै साढे २ मिटर तल खसेको अवस्थामा भेटिएको थियो ।

दुर्घटनामा बराहापोखरी गाउँपालिका–६ का ४५ वर्षीय दक्षुमान राई, ४० वर्षीय विश्व राई र उदयपुर चौदण्डीगढी नगरपालिका–८ की २० वर्षीया बृहस्पति राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

२८ वर्षीय छत्रबहादुर राई, ९ महिनाका शिषु दिप्सन राई, चौदण्डीगढी नगरपालिका–८ का ३० वर्षीय दीपक परियार र बराहापोखरी–६ का ३२ वर्षीया नविना राई घाइते रहेको प्रहरीको भनाई छ । उनीहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।