विज्ञान प्रविधि

संक्रमण रोक्न लकडाउन नै अन्तिम उपाय होइन : डब्लूएचओ

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको संक्रमण रोक्ने उपाय लकडाउन नभएको बताएको छ । पछिल्ला दिनमा यूरोपमा कोरोना संक्रमणको दोस्रो चरणको लहर चलेको छ । यसले यूरोपमा लकडाउन र प्रतिवन्ध शुरु भएको छ ।

सोही सन्दर्भमा डब्लूएचओले कोरोना भाइरस रोकथामका उपाय पूर्ण रूपमा पालना गर्ने हो भने भाइरसको संक्रमण रोक्न लकडाउन र प्रतिवन्ध आवश्यक नपर्ने उल्लेख गरेको छ । पछिल्ला दिनमा स्पेन, इटली, फ्रान्ससहित विभिन्न मुलुकमा संक्रमितको संख्यामा गुणात्मक वृद्धि देखिएको छ ।

कोभिड–१९ सम्बन्धी डब्लुएचओकी प्राविधिक प्रमुख मरिया भान केरकोभेले प्रतिबन्धभन्दा सम्बन्धित मुलुकले अनुगमन, परीक्षण र कन्ट्याक ट्रेसिङलाई बढाउनु पर्ने सुझाव दिएकी छिन् । अघिल्लो साता विश्वभर देखिएकामध्ये ४६ प्रतिशत नयाँ संक्रमितहरू यूरोपेली मुलुकबाट आएका छन् । यसले पुनः एक पटक यूरोप कोरोनाबाट प्रभावित हुने देखिएको छ ।