बिचार

अमेरिकी चुनाव - यो २०१६ को भाग २ होइन, प्रभात भट्टराईको विश्लेषण

चार बर्ष अघि सबै ढुक्क थिए- अमेरिकी राष्ट्रपतिमा हिलारी क्लिन्टन बिजयी हुँदैछिन् । विपक्षी डोनाल्ड ट्रम्प समेत आफ्नो पराजयमा निश्चित थिए । न्यूयोर्क टाइम्सका अनुसार चुनाव जितेमा जनतालाई सम्बोधन गर्ने भाषणको ड्राफ्ट समेत ट्रम्पले तयार पारेका थिएनन् ।

प्रभात भट्टराई

तर, जब ‘रष्ट वेल्ट’ भनेर चिनिने मध्य पश्चिम अमेरिकी क्षेत्रको मतगणना हुन थाल्यो माहोल एकाएक फेरियो । लामो समय देखि डेमोक्र्याटले जित्दै आएका मिसिगन, पेन्सिलभेनिया र विसकनसन ट्रम्पले हत्याए । सवा करोड बढि मत खसेको तीन राज्यमा ट्रम्पको विजयी ‘मार्जिन’ थियो ७७ हजार भोट । यही अन्तरले उनलाई मिसिगनको १६, विसकनसनको १० र पेन्सिलभेनियाको २० गरि कुल ४६ इलेक्टोरल मत दिलायो । यी तीन राज्यमा उनले क्रमशः १० हजार, २२ हजार र ४४ हजार मतान्तरको जित निकालेका थिए । यही जितबाट कुल ३०६ इलेक्टोरल मत ल्याएर ह्वाइट हाउसको बाटो तय गरेका ट्रम्पले यी तीन राज्य गुमाएका भए इलेक्टोरल मत २६० मा खुम्चिने थियो । क्लिन्टनको इलेक्टोरल भोट २३२ बाट बढेर २७८ पुग्ने थियो र राष्ट्रपति निर्वाचित हुन चाहिने २७० इलेक्टोरल मतको ‘थ्रेसहोल्ड’ पार गर्ने थिइन् ।

धेरैले निर्वाचन परिणामप्रति आश्चर्य माने । तर, राजनीतिक पण्डितहरुले तथ्यांकभन्दा धेरै आत्मविश्वासले हिलारी जित्ने आँकलन गरिदिएका थिए । राजनीतिक बाहिरिया त्यसमाथि अनेक विवादमा फसेका ट्रम्पलाई जनताले पत्याउँछन् भन्नेमा विश्लेषक सहमत थिएनन् । उनीहरुले आफुलाई जे लाग्छ त्यसैलाई प्राथमिकतामा राखेर बोले । अमेरिका मात्र होइन दुनियाँभरलाई नै लाग्यो- हिलारीको जित निश्चित छ । सबैभन्दा बढि आत्मविश्वास हिलारीमै देखियो । उनी ‘विसकनसन त त्यसै जितिहालिन्छ’ भनेर प्रचारका लागि समेत पुगिनन् ।

राजनीतिक पण्डितहरुले हिलारीलाई विजेता घोषणा गर्न जस्तोसुकै होड चलाए पनि तथ्यांकले त्यसो भनि रहेको थिएन । अधिकांश मत सर्वेक्षणमा हिलारी अगाडी त थिइन् तर ठूलो संख्याका मतदाता अनिर्णित नै थिए । चुनावको एक साता अघिसम्म पनि देशब्यापी रुपमा २० प्रतिशत मतदाताले भोट हाल्ने उम्मेद्वार तय भइ नसकेको जवाफ मत सर्वेक्षकलाई दिएका थिए । क्लिन्टनले ५० प्रतिशतको थ्रेसहोल्ड छुन कहिल्यै सकेकी थिइनन् ।

देशब्यापी सर्वेक्षणको तुलनामा प्रतिश्पर्धी राज्यका मतदाता झनै अनिर्णित थिए । अन्तिम समयसम्म अनिर्णित रहेका मतदातालाई एफबिआईका तात्कालिन निर्देशन जिम कोमीको एउटा कदमले ट्रम्पतिर धकेल्न मद्दत गर्यो । कोमीले चुनावको ११ दिन अघि क्लिन्टनले निजी सर्भरमा सरकारी इमेल चलाएको बारे अनुसन्धान नसकिएको जानकारी संसदलाई दिए । त्यो समाचारले क्लिन्टनको छवि माथि थप संशय बढायो । उनीसँग सुरु देखिनै बहुमत जनता असन्तुष्ट नै थिए । आम जनताको नजरमा क्लिन्टन र ट्रम्प दुबै लोकप्रिय उम्मेद्वार थिएनन् । रियल क्लियर पोलिटिक्सको औषत आँकडा अनुसार निर्वाचनको दिन क्लिन्टनको फेवरिबिलिटी ऋणात्मक १३ पोइन्ट थियो भने ट्रम्पको ऋणात्मक २१ पोइन्ट । अर्थात क्लिन्टनलाई ४२ प्रतिशत सर्वसाधारणले मन पराउँथे भने उनलाई नरुचाउने संख्या ५५ प्रतिशत थियो । ट्रम्पलाई मन पराउनेको संख्या ३८ प्रतिशत मात्र थियो । उनीप्रति नराकात्मक धारणा राख्ने ५९ प्रतिशत थिए । यो पृष्ठभूमीमा पटक पटक राजनीतिक अवसर पाएर विवादित भएकी क्लिन्टनभन्दा राजनीतिक बाहिरिया ट्रम्पप्रति निर्णायक राज्यका बहुमत अमेरिकीले झुकाव राखे ।

सबैलाई थाहा छ देशब्यापी रुपमा ट्रम्पले क्लिन्टनभन्दा ३० लाख कम भोट ल्याएका थिए । यो आँकडा चुनावको मुखमा गरिएको मत सर्भेक्षणको औषत तथ्यांकसँग ठ्याक्कै मिल्छ । रियल क्लियर पोलिटिक्सको औषत तथ्यांक अनुसार चुनावको दिन बिहान हिलारी ट्रम्पभन्दा तीन प्रतिशत विन्दुले अघि थिइन् । र, उनलाई भोट हाल्न निश्चित भएका सर्वसाधारणको संख्या थियो ४७ प्रतिशत । ट्रम्प ४४ प्रतिशतमा थिए । कतिपय देशब्यापी सर्वेक्षणमा ट्रम्पले हिलारीलाई उछिनेका समेत थिए । त्यसैले दुई अलोकप्रिय उम्मेद्वारको भिडन्तमा त्यही शैलीको नतिजा २०१६ मा आएको हो ।

२०१६ र २०२० को मत सर्वेक्षणमा फरक।

पेन्सिलभेनिया, मिसिगन र विसकनसन कुनै पनि राज्य ट्रम्पले खसेको ५० प्रतिशत भोट ल्याएर जितेका होइनन् ।  ट्रम्प र क्लिन्टन दुबैप्रति आजित ठूलो संख्याका मतदाताले तेस्रो पक्षको उम्मेद्वारलाई भोट दिए । सोही कारण पेन्सिलभेनियामा ४८.२, मिसिगनमा ४७.३ र विसकनसनमा ४७.२ प्रतिशत मत ल्याएर पनि ट्रम्प विजयी हुन पुगे । सन् २०१२ र २००८ को दुबै निर्वाचनमा यी राज्यमा बाराक ओबामाले सहज ५० प्रतिशत माथि भोट ल्याएका थिए । यी तीन मात्र होइन फ्लोरिडा, नर्थ क्यारोलिना जस्ता राज्यमा पनि ट्रम्प ५० प्रतिशत मतको थ्रेसहोल्ड नछोइ विजयी भएका थिए । लामो समय रिपब्लकिन राज्यको रुपमा चिनिएको एरिजोनामा पनि ५० प्रतिशत मत नपुर्याई ट्रम्पले जितेका थिए । यसले पनि पुष्टि गर्छ ट्रम्पले कुनै लोकप्रियताका आधारमा २०१६ को चुनाव जितेका थिएनन् । क्लिन्टनको विवादित छवि र अलोकप्रियताको मात्र फाइदा उठाएका थिए, जहाँ उनले शंकाको सुविधा पाए ।

यसपाली के फरक छ ?

यसपालीको चुनावमा सबैभन्दा ठूलो फरक त उम्मेद्वारको व्यक्तित्वमा नै देखिएको छ । बाइडेन हिलारी जस्तो अलोकप्रिय छैनन् भने ट्रम्प चार बर्ष अघिकै ठाउँमा छन् । ओबामाको लोकप्रिय आठ बर्षे शासनकालमा उपराष्ट्रपति रहेका राजनीतिज्ञ बाइडेन कुनै गम्भीर विवादमा मुछिएका छैनन् । एफबिआई निर्देशकको कदमपछि २०१६ मा हिलारी क्लिन्टन पराजित भएको जस्तै घटनालाई यसपाली पनि ट्रम्प र उनका हितैषीले दोहोर्याउन नखोजेका होइनन् । बाइडेन पुत्र हन्टरले चिनियासँग ब्यापार गर्न खोजेको र त्यसमा जो बाइडेनले पनि साथ दिएको बनावटी घटना चुनावको मुखमा ट्रम्प भित्रियाहरुले तयार पारेका थिए । तर, उनीहरु सफल भएनन् किनभने अमेरिकी जनताले त्यसमा चासो दिएनन् ।

सबैभन्दा ठूलोकुरा ट्रम्प अहिले २०१६ जस्तो राजनीतिक बाहिरिया होइनन् । उनी बहालवाला राष्ट्रपति हुन् र कोरोना भाइरसप्रति उनको हेलचेक्राइँको परिणाम स्वरुप दुई लाख ३० हजार अमेरिकीले ज्यान गुमाइ सकेका छन् । संक्रमितको संख्या एक करोड पुग्न लागेको छ । भाइरसले सिर्जना गरेको आर्थिक मन्दीका कारण दशौँ लाखले रोजगारी गुमाइ सकेका छन् । सरकारी तथ्यांक अनुसार नै आठ प्रतिशत अमेरिकी बेरोजगार छन् । यी सबै तथ्यांक उपर जनताले ट्रम्पको जवाफ खोज्छन् ।  

अर्कोतर्फ बाइडेनप्रति बहुमत अमेरिकीको सकारात्मक धारणा देखिएको छ । रियल क्लियर पोलिटिक्सको औषत आँकडा अनुसार उनीप्रति ५१ प्रतिशत अमेरिकीले सकारात्मक धारणा राखेका छन् । जस अनुरुप उनको फेवरिबिलिटी सात पोइन्टले धनात्मक छ । ट्रम्पको फेवरिबिलिटी १३ पोइन्टले ऋणात्मक छ । उनलाई मन पराउने अमेरिकी ४२ प्रतिशत छन् भने ५५ प्रतिशत उनीप्रति सकारात्मक छैनन् । देशब्यापी रुपमा भएका अधिकांश गुणस्तरीय सर्वेक्षणमा बाइडेन ट्रम्पभन्दा दोहोरो अंकले अघि छन् । सबै सर्वेहरुको औषत तथ्यांक निकाल्ने फाइफ थर्टी एटको विवरण अनुसार देशब्यापी रुपमा बाइडेन आठ अंकभन्दा ठूलो अग्रतामा छन् र उनलाई ५२ प्रतिशत अमेरिकीले भोट हाल्ने निधो गरि सकेका छन् । यो अग्रता सन् २००८ को चुनावमा बारक ओबामाले लिएको भन्दा पनि ठूलो हो । कुन्निपियाक विश्वविद्यालय, एनबिसी न्यूज /वालस्ट्रिट जर्नल, लस एन्जलस टाइम्स, सिएनएन जस्ता उच्च कोटीका सर्वेमा बाइडेन दोहोरो अंकको अग्रतामा छन् । फक्स न्यूज, सर्भे युएसए, सुफोल्क विश्वविद्यालय, न्यूयोर्क टाइम्स आदीको सर्वेमा आठ अंकको अग्रता बाइडेनलाई छ र प्रष्ट ५० प्रतिशत माथिको समर्थन पाएका छन् । चुनावको मुखमा चार बर्ष अघि प्रायः यी सबै सर्वेमा क्लिन्टनको अग्रता दुई देखि पाँच प्रतिशत हाराहारी मात्र थियो । लस एन्जलस टाइम्सको सर्वेमा त ट्रम्पले अग्रता लिएका थिए ।

भर्जिनियाको फेयरफ्याक्स काउन्टीका मतदाता अर्लि भोट खसाउँदै, तस्वीरः फेयरफ्याक्स काउन्टी

अति प्रतिश्पर्धी १० राज्यमध्ये आठ वटामा बाइडेनको अग्रता छ । सन् २०१६ मा हिलारीले जितेका राज्यमा उनी सहज अवस्थामा यथावत छन् । ती राज्य जितेको खण्डमा राष्ट्रपति चुनिन चाहिने पेन्सिलभेनिया, मिसिगन र विसकनसनमा बाइडेनलाई ५० प्रतिशत माथिको समर्थन छ भने छ देखि १० अंकसम्मको अग्रता लिएका छन् । सबै राज्यमा चार बर्ष अघि जस्तो तेस्रो पक्षको उम्मेद्वारलाई भोट हाल्ने मतदाता नगन्य छन् । फ्लोरिडा, जर्जिया, एरिजोना, नर्थ क्यारोलिना जस्ता ट्रम्पले जितेका राज्यमा पनि बाइडेनको निरन्तर अग्रता छ । लामो समय रिपब्लिकनको एकछत्र रहेको टेक्सासमा समेत बाइडेन र ट्रम्प बराबरको प्रतिश्पर्धामा देखिएका छन् ।  त्यसैले बाइडेन क्लिन्टनको तुलनामा धेरै सहज निर्वाचन लड्दैछन् ।

कोरोना भाइरस महामारी, अन्तर्राष्ट्रिय जगतमा गिर्दो अमेरिकी छवी जस्ता कारणले आजित अमेरिकी ट्रम्पप्रति क्रुद्ध छन् । निर्वाचनको मुख्य दिन (नोभेम्बर ३) अघि नै २०१६ को तुलनामा दुई तिहाइ मत खसाएर अमेरिकी जनताले यो चुनावप्रतिको चासो पुष्टि गरि सकेका छन् ।

बाइडेन अमेरिकी कामकाजी बर्गको प्रतिनिधित्व गर्छन् । क्लिटनलाई अभिजात बर्गको आक्षेप थियो । कामकाजी वर्गसँगको निकट सम्बन्धकै कारण रिपब्लकिनको आधार भनेर चिनिने कलेजको शिक्षा नलिएका गोराहरुको समेत उनलाई क्लिन्टनभन्दा धेरै समर्थन देखिएको छ । त्यसबाहेक महिला र बृद्धहरु पनि ठूलो संख्यामा बाइडेनसँग छन् । २०१६ को चुनावको पूर्व सन्ध्यामा क्लिन्टनलाई महिलाको साथ ट्रम्पभन्दा १४ पोइन्टले धेरै थियो । अहिले बाइडेन २१ पोइन्टले अघि छन् । ६५ बर्षमाथिका बुढापाका पाँच पोइन्ट बढि ट्रम्पसँग थिए । अहिले १० पोइन्ट बढिले बाइडेनको साथ दिएका छन् । कोरोना भाइरस प्रतिको वेवास्ताकै कारण धेरै बुढापाका र महिला ट्रम्पप्रति रुष्ट हुन पुगेका हुन् ।

यो यथार्थबीच चार बर्ष अघिजस्तै चमत्कारी जित निकाल्ने दावी ट्रम्पले अहिले पनि दोहोर्याएका त छन् तर सबै घटनाक्रमले पुष्टि गरि सकेको छ यो चुनाव २०१६ को भाग दुई अवश्य होइन ।