बिचार

अमेरिका, म र रिपव्लिकन

योगेश आदी

[email protected]

सन् २००७ मा मलाई अमेरिकी डिभी चिट्ठा पर्यो । अमेरिकाको बारेमा थप रुचि बढ्यो । जर्ज डब्लु बुस राष्ट्रपति थिए । कार्यकाल सम्हालेकै वर्ष ९११ को घटना र रस्सियन अर्थतन्त्रको विश्वब्यापि असरको कारण अमेरिकी अर्थतन्त्र पनि खस्कदो थियो । यसै कारण बुसलाई सबैले अभागी राष्ट्रपति भन्दथे । सहानुभुति स्वरुप मैले केही नबुझी रिपब्लिकनसँग भावना जोडें ।

पछि नेपालको काँग्रेस भनेको रिपब्लिकन जस्तो निजीकरण, व्यापारी र राष्ट्रबादी बढी हुन्छन् भन्ने र डेमोक्र्याटिक भनेको नेपालको कम्युनिष्ट जस्तो साना व्यवसायीलाई हेर्ने, समाजबादी, सर्वराष्ट्रबाद सहज स्वीकार्ने जस्तो हुन्छन् भन्ने भ्रममा म पनि रुमल्लिएँ । आखिर सिद्धातत: दुबै गलत छैनन् । तथापि मैले अमेरिकी राजनीतिमा कहिल्यै खासै रुचि राखिन । किनकि गरिखाने बर्गलाई बढी राजनीति लाग्छ तर गराईखाने बर्गले राजनीतिमा पकड राख्दछ, भन्ने म बुझ्छु । गणपुरक सँख्या पुर्याउन, ताली बजाउन र आफ्नो टाउको गन्तिमा पारेर अरुको लागि सिंढी बन्न मैले सकिन । अमेरिकी चुनाव भरी म मौन रहें । केही आर्टिकल रिपव्लिकनको पक्षमा लेख्न चाहन्थे तर रिपब्लिकनको उमेदवार असल मानिस र राजनैतिक प्राणी नभएको ठहर गरी नैतिक रुपमा खुम्चिएँ । 

नेपाली साथीहरुले आप्रबासीले डेमोक्र्याट बन्नुपर्छ । रिपब्लिकनले व्यापारी मात्र हेर्छ । अमेरिकाबाट दास प्रथाको अन्त्य गर्ने ऐतिहासिक राष्ट्रपति अब्राहम लिंकन पनि रिपब्लिकन थिए भन्ने बिर्सिएर रिपब्लिकन गोराको हो… ईत्यादि लेखेर फेसबुक भ्रममय पार्यो । कसैको कमेण्टमा एक शब्द पनि खर्चिन । राष्ट्रपति ट्रम्पको व्यवहार हेपाहा, पोजे, छुद्र, छुच्चो जस्तो देखिन्छ किनकि जे हो त्यही देखिने हो । तर यति हुँदाहुँदै पनि अमेरिकाको आधा आकाशले भोट दिएको वा सही ठानेको व्यक्ति भने निसंकोच हो । क्षमता र योग्यता नभै कुनैपनि व्यक्ति अमेरिकाको राष्ट्रपति पदको उमेदवार बन्ने हैसियतमा पुग्दैन । यसर्थ ट्रम्पले भन्दा बढ्ता नीतिहरु आफैले जानेको भ्रम त्याग्दा राम्रो । कतिपय साथीहरुले ट्रम्पको सपोर्टमा; अर्थतन्त्र सुधारेको, बेरोजगार दर घटाएको भनेर देवतुल्य नै मानेर लेखे । राष्ट्राध्यक्षको काम नै राष्ट्रको हित गर्ने हो भने कुन नौलो काम गरेको भयो र ? ट्रम्पलाई स्वाभावसँग जोडेर हेर्ने अर्को पक्ष देखिए । शौचालय बस्दा पनि ट्रम्पलाई सत्तोसराप गरेर एउटा स्टाटस लेखी मनशान्त पार्नेहरु देखें । आधा ओच्छ्यान चिसै छाडेर रातभर ‘ट्रम्प हाउगुजी’ वाला स्टाटस लेखिबस्ने पनि भेटें । ति सबैले ट्रम्प ब्यक्ति होइन संस्था हो, भन्ने भुले ।आखिर बिगत ४ बर्षमा ट्रम्पले ह्वाइट हाउसको भित्तामा कालो पोतेनन् । मेक्सिकोसँगको २००० माइल्स सिमिनामा अत्यावश्यक परेको ठाउँ हेरी ५ माइल मात्र पर्खाल लगाए । बरु सन् २०१९ मा मेक्सिकोसँग ६७७ बिलियन अमेरिकी डलरको व्यापार गरेर रेकर्ड बनाए । २९० बिलियन एक्सपोर्टको बदलामा ३८८ बिलियनको इम्पोर्ट गर्दिए । अमेरिकाको राष्ट्रपतिले अमेरिकालाई के गर्यो त्यो मुल्याङ्कन गर्नुपर्छ, नकि अन्य राष्ट्रलाई के गर्यो वा भन्यो । 

यो हप्ता सबैभन्दा टिठलाग्दो र दरिद्री फेसबुके स्टाटस् के देखियो भने; ‘ट्रम्पलाई सपोर्ट गर्ने ट्रम्प जस्तै स्वाभाव भएकाहरु मात्र हुन्’ भन्ने । महाशय, लेनिन र प्रचण्डले जति हत्या कसले गरे ? त्यति झुठ कस्ले बोलेका होलान् । के प्रचण्डलाई भोट हाल्ने सबैलाई त्यस्तै ठान्ने ? हिन्दुको नाक काटेर फलानाको फलानो ठाउँ टाल्ने मोहनदास करमचन्द गान्धीलाई सबैले महात्मा ठान्नै पर्छ भन्ने छैन । मनको खराब त हिटलर पनि थिएन मित्रजन् ! मोरल रिलेटिभिजम्ले गलत कसैलाई पनि देख्दैन । देख्नु हुँदैन । उस्को जुत्ताको अनुभव तिमीलाई छैन भने हावामा किन माइल्स नाप्छौ ? मासु खानुलाई पाप ठान्ने र मासु खान पाउँदा उत्सव मान्ने दुबै पक्ष एउटै घरमा हुन्छन् । तर्क आ-आफ्नो, सोच आ-आफ्नो ।

यो हप्ता आप्रबासीलाई अर्को भ्रम छरियो – रिपब्लिकनले आप्रबासीलाई खेद्छ, आप्रबासी डेमोक्र्याट्स नै बन्नुपर्छ, भन्ने ।

दोश्रो विश्वयुद्धपछि अमेरिकामा युरोपेली आप्रबासी भित्र्याउने नीति रिपब्लिकन राष्ट्रपति आइजन हावरले ल्याएका थिए । त्यस्तै अमेरिकामा सन् १९७५ देखि शुरु भएको राजनैतिक शरणार्थी (एसाइलम) को ढोका खोल्ने कार्य रिपब्लिकन राष्ट्रपति गेराल्ड फोर्डले गरेका थिए । करिव ६० प्रतिशत एसालम केस रिजेक्ट भएको आंकडा छ । सबैभन्दा बढी रिजेक्ट डेमोक्र्याटिक राष्ट्रपति बाराक ओबामाको पालामा भएको थियो । हालसम्म २० लाख मानिस राजनैतिक शरणार्थीको रुपमा अमेरिका पसे । जसमा ४० हजार स्विकृत भएका छन् ।

सबैभन्दा महत्वपूर्ण कुरा त अमेरिकामा समुदाय बीच सन्तुलन ल्याउन हरेक वर्ष ५५ हजार आप्रवासी भित्र्याउने डिभी चिट्ठाको शुरुवात सन् १९९० मा ईमिग्रेसन ऐन जारी गरी लागू गर्ने पनि रिपब्लिकन राष्ट्रपति जर्ज वाकर बुस नै थिए । अब कुन पार्टीले आप्रबासीको हितमा के उल्लेख्य कार्य गर्यो भनेर कुर्लनु भन्दा अगाडि सत्य तथ्य बुझौं ।

अमेरिकी ईतिहासमा सबैभन्दा बढी आप्रबासी खेद्ने राष्ट्रपति पनि ओबामा बनेका छन् । उनको पालामा ८ वर्षमा ३२ लाख आप्रबासी अमेरिकाबाट धपाइए । ओबामाअघि रिपव्लिकन बुसको पालामा ८ वर्षमा २० लाख निकालिएका थिए । ८ वर्ष ‘होप र ड्रिम्स’ भनेर मिठो बोल्दै अल्मल्याएर असफल बैदेशिक नीतिको हिस्सेदार बनि कार्यकाल सक्ने राष्ट्रपति भन्दा ठाडो बोलेर काम गर्नेलाई आचरणकै कारण गलत मात्रै देख्नु हुँदैन । त्यसो त २ वर्ष हाउस र सिनेटमा पुरै कन्ट्रोल हुँदा ओबामाले कुन उल्लेख्य कदम आप्रबासीको हित उठाएनन् ।

युद्ध र उत्तेजनाको कुरा; डेमोक्र्याटिकहरु युद्धको दोष रिपब्लिकनलाई दिन्छन तर जुलाई १९१४ देखि नोभेम्बर १९१८ सम्म प्रथम विश्वयुद्ध हुँदाको सम्पुर्ण समय डेमोक्र्याटिक राष्ट्रपति उड्रो विल्सन पदमा थिए । त्यस्तै दोश्रो विश्व युद्ध सन् १९३९ देखि १९४५ सम्म चल्दा पनि सम्पूर्ण समय डेमोक्र्याटिक फ्राक्लिन रुजबेल्ट नै राष्ट्रपति थिए । कसैले पनि तथ्यलाई बङ्ग्याएर भ्रम छर्ने काम नगरौं ।

विचार बाँझिदैमा गलत भन्ने प्रबृति प्रजातान्त्रिक व्यक्तिको हुँदैन । ट्रम्प हुँदा कस्ले के पायो, के गुमायो ? अब बाइडेनको पालामा के थपिएला वा गुम्ला ? समयले देखाउने नै छ । मुल कुरा त के हो भने अमेरिका सिस्टमले चल्छ । सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।