विश्व

पाकिस्तानले फेरी बन्द गर्यो शैक्षिक संस्था, कोरोनाको दोस्रो लहर शुरु

इस्लामावाद । पाकिस्तानले दक्षिण एसियाली क्षेत्रमै सबैभन्दा प्रभावकारी रुपमा कोरोना भाइरसको संक्रमण नियन्त्रण गरी शैक्षिक संस्था खोलेको थियो । तर, भाइरसको दोस्रो लहरको चपेटामा आएसँगै उसले पुनः विद्यालय बन्दको घोषणा गरेको छ । साथै पाकिस्तानले सबै प्रकारका परीक्षा समेत स्थगित गरिदिएको छ । अब पाकिस्तानमा डेढ महिना लामो प्रतिवन्ध लागेको छ ।

पाकिस्तानी संचारमाध्यमहरुका अनुसार सोमबार यस्तो घोषणा भएको हो । आगामी बिहीबारबाट बन्द हुने शैक्षिक संस्था आगामी जनवरी १० सम्म बन्द नै रहनेछन् । शैक्षिक संस्थामा लागेको प्रतिवन्धसँगै परीक्षा समेत स्थगित भएका छन् ।

यसअघि कोरोना भाइरसलाई कुनै न कुनै रुपमा नियन्त्रणमा ल्याएका मध्यपूर्वी एसियाली र दक्षिण एसियाली मुलुकमा पुनः संक्रमणले गति लिन थालेको छ । इन्डोनेसियामा २४ घण्टामा ४ हजार ४४२ जना सङ्क्रमित थपिएका छन् । मलेसियामा एक हजार ८८४ जना नयाँ सङ्क्रमित थपिएको तथ्यांक आएको छ ।