समाचार

व्यस्त कार्यकालिकासहित भारतीय विदेश सचिव आज काठमाडौं आउँदै

काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौं अवतरण गर्दैछन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउनेछन् ।

नेपाल र भारतबीचको सम्बन्धमा उचारचढाव आइरहेको समयमा भारतबाट लगातार उच्चस्तरीय भ्रमण भइरहेका छन् । यसअघि गुप्तचर विभागका प्रमुख र सेनाप्रमुखबाट नेपालको भ्रमण भइसकेको छ । त्यसो त राजनीतिक स्तरबाट भन्दा बढी कर्मचारीस्तरबाट नेपालमा उच्चस्तरीय भ्रमण भएको हो ।

विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो । उनको नेपाल आगमन दुई देशबीच उच्चस्तरमा भइरहेको भ्रमणको आदान प्रदानकै निरन्तरता भएको परराष्ट्रको भनाई छ । दुई दिन नेपालमा रहँदा उनले उच्चस्तरीय भेटवार्ता गर्नेछन् ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलगायतलाई आज भेट्ने कार्यक्रम तय भएको छ । परराष्ट्र सचिवसँग दुईपक्षीय विषयहरुमा वार्ता गर्ने कार्यक्रम समेत रहेको छ । उनी गोरखासमेत जाने कार्यक्रम रहेको छ ।