विश्व

भारतीय विदेशसचिव उच्चस्तरीय भेटवार्तामा व्यस्त

काठमाडौं । भारतीय विदेश सचिव हर्षबर्धन शृंगला दुई दिने भ्रमणका सिलसिलामा आज नेपाल आइपुगेका छन् । काठमाडौं आएसँगै उनी द्धिपक्षीय भेटघाटमा व्यस्त रहे । बिहीबार बिहान काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा उनले नेपाली भाषामा आफ्नो प्रतिक्रिया दिएका थिए । त्यसक्रममा उनले नेपालमा आउँदा आफु खुसीको भएको बताएका थिए ।

विदेश सचिवका रुपमा पहिलो भ्रमणका लागि नेपाल आएपछि आफु यसअघि काठमाडौं आइसकेको जानकारी गराए । उनले बिहीबार दिउँसो समकक्षी परराष्ट्र सचिव डा. भरतराज पौड्यालसँग औपचारिक भेटवार्ता गरे । उनीहरुबीच सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको छ ।

परराष्ट्र सचिवस्तरीय बैठक द्धिपक्षीय सम्बन्ध सुधारमा उपलब्धी मुलक भएको भारतीय दूतावासले उल्लेख गरेको छ । उनले बिहीबार नै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेटेका छन् । यस भेटमा कोरोना भाइरसको खोपको ठूलो प्रयोगकर्ता भारतले खोप बजारमा आउनासाथ नेपाललाई समेत उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको छ ।

उनले आज नै राष्ट्रपति र प्रधानमन्त्रीसँग समेत द्धिपक्षीय सम्बन्धका विषयमा भेटवार्ता गरेका छन् । विदेश सचिव शुक्रबार गोरखा पुगेर विद्यालय भवनको उद्घाटन गर्नेछन् । त्यसपछि उनी शुक्रबार नै स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।