फिचर

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । शनिबार भएको निर्वाचनको मतपरिणाम आइतबार बिहान आएको छ । उनी प्रतिद्वन्द्वी किशोर प्रधानलाई हराउँदै वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघको विधान अनुुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान छ । सोहीकारण उनी अब महासंघको आगामी कार्यकाल अध्यक्ष बन्ने पक्का भएको छ । निवर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा भने अध्यक्ष बनेका छन् ।


३० प्रतिशत मत भार रहेको एशोसिएटमा चन्द्र ढकालले ५२२ र किशोर प्रधानले ३७५ मत प्राप्त गरे । २० प्रतिशत मत भार रहेको वस्तुगतमा चन्द्र ढकालले ५९ र किशोर प्रधानले ३९ मत प्राप्त गरेका छन् ।

५० प्रतिशत मत भार रहेको जिल्ला, नगरतर्फ चन्द्र ढकालले ५२ र किशोर प्रधानले ५३ मत ल्याएका छन् । ढकालले वस्तुगततर्फ १२.०४ प्रतिशत, उद्योग वाणिज्यतर्फ २४.७६ प्रतिशत, एसोसियटतर्फ १७.४६ प्रतिशत मत ल्याउँदा कूल ५४.२६ प्रतिशत मत प्राप्त गरे । प्रधानले ४५.७४ प्रतिशत मत ल्याए ।


महासंघको वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ प्रधानपक्षकै दिनेश श्रेष्ठ र एसोसिएट्स तर्फ ढकाल पक्षका रामचन्द्र संघइ विजयी भएका छन् ।