विश्व

चिनियाँ रक्षामन्त्री आज नेपाल भ्रमणमा आउँदै

काठमाडौं । पछिल्लो समय चीन र भारतबाट निरन्तर नेपालमा उच्चस्तरीय भ्रमण भइरहेको छ । सोही सन्दर्भमा आज चीनका रक्षामन्त्री नेपाल आउँदैछन् । जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो एकदिने औपचारिक भ्रमणका सिलसिलामा काठमाडौं आउँदैछन् ।

नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेट गर्नेछन् । प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेटघाट र सैन्य सहयोगका विषयमा छलफल गर्ने कार्यतालिका रहेको छ ।

नेपाल भ्रमण सकेर उनी आइतबार साँझ बंगलादेश प्रस्थान गर्नेछन् । चिनियाँ राष्ट्रपतिबाट गत वर्ष भएको भ्रमणपछि यो सबैभन्दा उच्च तहको भ्रमण हो ।