विश्व

नेपाल भ्रमण पुरा गरी फर्किए चिनियाँ रक्षामन्त्री

काठमाडौं । चिनियाँ रक्षामन्त्री वेइ फेङहे नेपालको एक दिने औपचारिक भ्रमण पुरा गरी बंगलादेश प्रस्थान गरेका छन् । आज बिहान साढे १० बजे काठमाडौं ओर्लिएका उनी आज दिनभर निकै व्यस्त रहे ।

उनलाई बिहान त्रिभुवन विमानस्थलमा गृहमन्त्री रामबहादुर थापा बादलले स्वागत गरेका थिए । त्यसपछि उनलाई नेपाली सेनाले आफ्नो मूख्यालयमा विशेष सम्मान गरेको थियो ।

जंगीअड्डामा सम्मान गारद प्रदान गरेपछि प्रधानसेनापति पूर्णचन्द्र थापासँग दुईपक्षीय हित र सैन्य सहयोगका विषयमा छलफल भएको छ । त्यसपछि चिनियाँ रक्षामन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाटका लागि वालुवाटार पुगेका थिए ।

प्रधानमन्त्रीसँगको छलफलपछि उनी राष्ट्रपति कार्यालय, शितल निवास पुगी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका छन् । शितल निवासबाट भने रक्षामन्त्री सिधै विमानस्थल लागेका हुन् । रक्षामन्त्रीको भ्रमण चीनबाट भएको पछिल्लो उच्चस्तरीय भ्रमण हो ।