मनोरञ्जन

अब हरेक शनिबार माउण्टेन फ्लाइट, एउटा टिकट किन्दा अर्को सित्तैमा

Photo : Lonely Planet

काठमाडौं । आगामी शनिबारबाट नेपालमा माउन्टेन फ्लाइट पुनः सूचारु हुने भएको छ । निजी वायुसेवा कम्पनी बुद्ध एयर र यति एयरले उस्तै प्याकेज सार्वजनिक गर्दै माउन्टेन फ्लाइट खुला गरेका हुन् ।

कम्पनीहरुले अब एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा दिने भएका छन् । दुई सीटमध्ये झ्यालतर्फको सीटको टिकट किन्दा सँगैको अर्को सीटको टिकट सित्तैमा पाइने भएको हो । मूल्य भने एउटा सीटको ९ हजार राखिएको छ ।

यसअघि एउटै सीटको १२ हजार रुपैयाँसम्म लिएर कम्पनीहरुले उडान गर्दै आएका थिए । माउन्टेन फ्लाइट काठमाडौंबाट हुनेछ । सगरमाथा र यस आसपासका हिमाललाई नजिकबाट नियाल्न पाइने माउन्टेन फ्लाइट नेपालको रोमान्चक हवाई प्रडक्ट हो ।

पछिल्लो समय विदेशी पर्यटक नभएका कारण एयरलाइन्सले स्वदेशी नागरिकलाई लक्षित गरी सस्तो प्याकेज सार्वजनिक गरेका हुन् । यसले एयरलाइन्सको विजनेश समेत चलायमान हुने र यात्रुले समेत नयाँ अनुभव लिन सक्ने अपेक्षा गरिएको छ ।

उडान हरेक शनिबार मात्र हुनेछ । नेपालमा ११ चैत २०७६ यता उडानहरु प्रभावित भएका हुन् । कोरोना भाइरसका कारण थला परेका व्यापार व्यवसाय क्रमशः चलायमान हुने क्रममा रहेका छन् ।