फिचर

साढे ४ वर्ष पुरानो रेकर्ड तोड्दै उकालो लागेको नेपाली सेयर बजारमा नयाँ रेकर्ड कायमै

काठमाडौं । पछिल्लो समय दैनिक नयाँ रेकर्ड बनाउँदै आएको सेयर बजारले आफ्नो गति कायमै रहेको छ । गत बिहीबार साढे ४ वर्ष पुरानो रेकर्ड तोड्दै उकालो लागेको बजारले आफ्नो लय कायमै राखेको हो ।

आज बजार सूचक करिब २९ अंकले बढेर फेरि नयाँ रेकर्ड बनाएको छ । दिनभर तीव्र उतरचढाव देखिएको बजारले २००० विन्दु पारे गरे पनि १९९७ विन्दुमा झरेर बन्द भएको छ । यो विन्दु हालसम्मकै उच्च विन्दु हो ।

आइतबार करिब ७५ अंकले बढेको बजार यस साताका दुई दिनमै १०० अंकभन्दा धेरैले बढेको छ । आज सेयर बजार मापक सूचक नेप्से २८.७९ अंकले बढेर १९९७.०६ विन्दुमा पुगेको छ । यसदिन १९८ कम्पनीको २ करोड ५१ लाख ९१ हजार ३१९ कित्ता सेयर ८ अर्ब ८६ करोड ७७ लाख १४ हजार ६८१ रुपैयाँमा कारोबार भएको छ ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ८ वटा समूहको परिसूचक उकालो लागेका छन् भने ४ वटा समूहको परिसूचक ओरालो लागेका छन् । आज जीवन बीमा समूहको सबैभन्दा धेरै ८२३.३५ अंकले बढेको छ भने विकास बैंक समूह सबैभन्दा धेरै ४८.१४ अंकले घटेको छ ।

आज लगानीकर्ताको रोजाइमा नेपाल लाइफ इन्स्योरेन्सको सेयर परेको छ । यसको सबैभन्दा धेरै ३८ करोड ४८ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबार रकमकै आधारमा नेपाल पुनर्बीमा कम्पनी र प्रभु बैंक क्रमशः दोस्रो र तेस्रोमा रहे ।

आज कारोबार भएका कुल १९८ कम्पनी मध्ये ११३ कम्पनीको मूल्य बढेको छ भने ७६ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

आइतबार बैंकिङ क्षेत्रको सेयरमा झुम्मिएका लगानीकर्ता आज जीवन बीमा कम्पनी र जलविद्युत् कम्पनीको सेयरमा डाइभर्ट भएका छन् । यी क्षेत्रका अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ ।

आज करिब आधा दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । युनाइटेड मोदी हाइड्रोपावर, अपर तामाकोशी, ग्रीन डेभलपमेन्ट बैंक, नेपाल बंगलादेश बैंक, साञ्जेन र रसुवागढी हाइड्रोपावर कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

बढ्दो बजारमा आज पनि विशाल बजार कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका लगानीकर्ताले ठ्याक्कै १० प्रतिश गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा लगातार नेगेटिभ सर्किट लागेको आज दोस्रो दिन हो ।