विश्व

नाइजेरियामा बोको हरामको बर्बर आतंक, १ सय १० मजदुरको हत्या

Photo source : postgazette.com

काठमाडौं । नाइजेरियामा बोको हराम समूहले बर्बर आतंक फैलाएको छ । यहाँ एकै पटक १ सय १० मजदुरको हत्या भएको अन्तर्राष्ट्रिय संचारमाध्यममा उल्लेख छ । बोको हरामका लडाकुले मजदुरको हत्या गरेका हुन् ।


नाइजेरियाको कोशोबे गाउँ तथा अन्य क्षेत्रमा खेतमा काम गरिरहेका १ सय १० जना किसानलाई बाँधेर घाँटी रेटेर बर्बर हत्या भएको हो । मृत्यु हुने महिला र पुरुष दुबै छन् । आंतककारी मोटरसाइकलमा आएका थिए ।

उनीहरुले खेतमा काम गरिरहेका किसानमाथि सांघातिक आक्रमण समेत गरेका थिए । घटनापछि स्थानीयको उद्धारमा मिलिसिया पठाइएको थियो । घटना स्थलमा १ सय १० जनाको शव घाँटी काटिएको अवस्थामा फेला परेको र ६ जना घाइते अवस्थामा भेटिएको बताइएको छ ।

८ जना भने अहिले पनि बेपत्ता छन् । उनीहरुलाई लडाकूले अपहरण गरेको हुनसक्ने आशंका गरिएको छ। नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले घटनाको निन्दा गरेका छन्। बोको हरामले नाइजेरियामा लामो समयदेखि आंतक मच्चाइरहेको छ ।