समाचार

आज बस्दैछ नेकपा सचिवालय बैठक, दुबै अध्यक्षका प्रतिवेदनबारे छलफल

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दै छ। दुबै अध्यक्षले एक अर्का विरुद्ध गम्भीर आरोपसहित ल्याएको दुबै प्रतिवेदनमाथि आज सचिवालय बैठकमा छलफल हुन लागेको हो । आज पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो बस्ने बैठकलाई महत्वका साथ हेरिएको छ ।

बैठक अघि गुटगत रणनीति बनेका कारण आज निर्णायक छलफल हुने अपेक्षा गरिएको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सचिवालय बैठकमा पेस भएका दुबै पत्र र प्रस्तावलाई स्थायी कमिटीसम्म लैजाने पक्षमा छन् ।

यस अवस्थामा पार्टीले प्रधानमन्त्रीमाथि लगाएका आरोपको खण्डन गर्न नसके प्रधानमन्त्री अल्पमतमा पर्ने उनीहरुको अपेक्षा छ । उता, प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली पक्षले भने प्रचण्डको प्रस्ताव फिर्ता वा संशोधन गराएर सचिवालयबाटै साझा प्रस्ताव बनाउ प्रयासमा छ ।

प्रधानमन्त्री पार्टीका तल्लो कमिटिमा अल्पमतमा पर्ने डरले सचिवालयबाटै टुंग्याउने पक्षमा छन् । शनिबार सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले ३८ पृष्ठको जवाफी प्रतिवेदन पेश गरेका थिए । कात्तिक २८ मा प्रचण्डले सचिवालय बैठकमा ओलीलाई जवाफी पत्रसहित १९ पृष्ठको प्रस्ताव पेस गरेका थिए।