फिचर

सरकारले भन्यो : हिँउदेबालीका लागि मल अभाव हुँदैन

काठमाडौं । हिउँदेबाली लगाउने समय भएको छ । आलु, गहँुसमेत लगाउने समयमा नेपालमा भने रासायनिक मल आउन सकेको छैन । तर, सरकारले भने हिँउदेबालीका लागि आवश्यक मलको अभाव नहुने आश्वासन दिएको छ । यसअघि धानबालीका लागि भने रासायनिक मलको चरम अभाव भएको छ ।

सरकारले खरिद गरेको मल आइरहेको र हिउँदेबालीका लागि अभाव नहुने कृषि सामग्री कम्पनीले जनाएको छ । सरकारले स्विस सिंगापुर सप्लायरमार्फत् चीनबाट खरिद गरेको ३० हजार मेट्रिक टन युरिया नेपाल आउने क्रममा छ । डीएपी र पोटास समेत नेपाल आइपुगेको छ ।

कृषि सामग्री कम्पनीका अनुसार १९ हजार टन डीएपी र १० हजार टन पोटास नेपाल आएको छ । भारतीय सप्लायर इण्डियन पोटास लिमिटेड (आईपीएल) मार्फत नेपालले साउदी अरेबियाबाट डीएपी र बेलारुसबाट पोटास खरिद गरेको छ । कृषि सामग्री कम्पनीले प्राप्त गरेको मल गहुँ, आलु तथा हिउँदेबालीमा प्रयोग हुने बताइएको छ ।

कृषि सामग्री कम्पनीले धानबालीमा माग अनुसार मल आपूर्ति गर्न नसकेकोमा क्षमा समेत मागेको छ । गहुँ तथा हिउँदे बालिका लागि मल पर्याप्त रहेको कम्पनीको भनाई छ । मल वितरणका लागि निर्देशिका अनुसार स्थानीय तहमा बिक्रीका लागि तोकिएका मल बिक्रेतासँग सम्पर्क गर्न समेत भनिएको छ ।