समाचार

सचिवालय बैठकमा फेरी बिच्किए ओली, बैठकको औचित्य नभएको भन्दै झगडा

काठमाडौं । मंगलबार सत्तारुढ नेकपाका महासचिव तथा अर्थमन्त्री विण्णु पौडेलको जन्मदिन । यसै दिन नेकपाको सचिवालय बैठक समेत प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आयोजना भयो । यसअघि बैठक नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको थियो । तर पार्टी कार्यालयमा आफुमाथि सुरक्षा थ्रेट रहेको भन्दै प्रधानमन्त्रीले नजाने अडान लिए । त्यसपछि सबै नेताहरु वालुवाटारतर्फ लागे ।

वालुवाटारमा विण्णु पौडेलको जन्मदिनको केक काटियो । नेताहरुले बाँडिचुडी खाए र बैठकको शुरुवात भयो । नेकपा सचिवालय स्रोतका अनुसार बैठक कार्यकारी अध्यक्ष प्रचण्डले शुरुवात गरेका थिए । उनले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई आफ्ना धारणा भए राख्न अनुमति दिए ।

ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्ताव लाञ्छनापत्र मात्रै भएको भन्दै उक्त पत्रबारे आज पनि आलोचना शुरु गरेका थिए । यो पत्रले पार्टीको शाख गिराउने काम गरेको उनको आरोप थियो । यो पत्रमाथि पार्टीमा छलफल हुन नसक्ने भन्दै ओलीले प्रस्ताव फिर्ता लिनु पर्ने र प्रचण्डले माफी माग्नुपर्ने बताए ।

आजको बैठकमा प्रधानमन्त्रीको पक्षमा विष्णु पौडेलमात्र देखिएका थिए । ओली पक्षीय भनि चिनिएका इश्वर पोखरेल र रामबहादुर थापाले समेत बैठकको पक्षमा बोलेका थिए ।

प्रधानमन्त्री ओलीले पार्टीमा बहुमत–अल्पमतका आधारमा नभई सहमतिबाट मात्र निर्णय हुने भन्दै त्यसरी अगाडी नबढ्ने भए पार्टी एकता नै धरापमा पर्ने चेतावनी दिएको नेताहरुले सार्वजनिक गरेका छन् । प्रधानमन्त्रीले अन्तरिम कमिटीमा बहुमत–अल्पमत नमान्ने भन्दै बैठक नै चलाउन नदिने अडान लिएका थिए । त्यसपछि भने माहोल बिग्रिएको बताइएको छ ।

ओलीले प्रचण्डमाथि आक्रोसित बन्दै कडा शब्दहरु प्रहार गरेपछि कार्यकारी अध्यक्ष प्रचण्डले बोलेका थिए । अध्यक्ष ओलीले उत्तेजित बनाउने गरी बोलेको तर आफूहरु उत्तेजित नभई शान्तपूर्वक छलफल गरी निष्कर्षमा पुग्न चाहेको प्रचण्डले उल्लेख गरे । त्यसपछि सबै नेताहरुले बोल्न थालेका थिए ।

बैठकमा अरु नेतालाई बोल्नै नदिने गरी प्रधानमन्त्री प्रस्तुत भएपछि सचिवालयका अन्य सदस्यले प्रतिवाद गरेको स्रोतलाई उल्लेख गरी नेपाली संचारमाध्यमले जनाएका छन् । आजको बैठकमा प्रधानमन्त्रीको पक्षमा विष्णु पौडेलमात्र देखिएका थिए । ओली पक्षीय भनि चिनिएका इश्वर पोखरेल र रामबहादुर थापाले समेत बैठकको पक्षमा बोलेका थिए ।

वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम र नारायणकाजी श्रेष्ठले समेत बैठकमा अरुका कुरा राख्न नपाउने र बोल्नै नदिने ओलीको प्रवृत्तिको आज चर्को विरोध गरेका छन् । यसबाट बैठकमा बाझाबाझको अवस्था आएको छ ।

बैठकबाट भाग्दै माहौल बिगार्न खोज्ने ओली प्रवृत्तिको आज सबै नेताहरुले चर्को आलोचना गरेका छन् । प्रचण्डले सचिवालयको अर्को बैठक बुधबार १ बजे बस्ने गरी आह्वान गरेका छन् ।