समाचार

पोखराबाट बाल यौन दुराचारको आरोपमा फ्रान्सेली नागरिक पक्राउ

पोखरा । एक फ्रान्सेली नागरिक बाल यौन दुराचारको आरोपमा पक्राउ परेका छन् । गैर पर्यटकीय भिसामा नेपाल आएर पोखरामा बसिरहेका फ्रान्सका ६० वर्षीय क्रिष्टियन सर्ज हेनरी नौगारेटलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार पोखराका १२, आठ र सात वर्षीय तीन नाबालकलाई यौन दुराचार गरेको आरोप उनीमाथि लागेको छ । उनलाई मंगलबार सार्वजनिक गरिएको छ ।

ब्यूरोका प्रवक्ता बेलबहादुर पाण्डेका अनुसार पोखरा महानगरपालिका–१७ बिरौटा पावर हाउसस्थित फुर्सेखोला बगर किनारामा यौन दुराचार गरिरहेका अवस्थामा नौगारेट पक्राउ परेका हुन् ।

प्रहरीले यौन दुराचारमा परेका तीन नाबालकलाई उद्धार समेत गरी अभिभावकको जिम्मा लगाइएको छ । उनीविरुद्ध अब बालयौन दुरुपयोग तथा आप्राकृतिक मैथुनको कसुरमा कारवाही अगाडी बढ्ने भएको छ ।