बिचार

प्रमुख तीन दलले भने : संसद विघटन संविधान माथिको आक्रमण

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन संविधानमाथिको आक्रमण भएको प्रमुख तीन दलले निष्कर्ष निकालेका छन् । आज नेपाली कांग्रेसले आह्वान गरेको सर्वदलीय बैठकमा उपस्थित भएका मूख्य तीन दलले यस्तो निष्कर्ष निकालेका हुन् । सरकारको कदमबारे धारणा बनाउन आज संयुक्त बैठक बसेको थियो ।


नेपाली कांग्रेसको आह्वानमा उसैको पार्टी कार्यालय सानेपामा बसेको बैठकमा नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीका नेता सहभागी भएका थिए । बैठकमा नेकपा अध्यक्ष प्रचण्डसहित माधव कुमार नेपाल र झलनाथ खनाल समेत सहभागी भए ।

बैठकले संसद विघटन संविधानमा हुँदै नभएको प्रावधानमा टेकेर गरिएको र यो कदम संविधानमाथिको आक्रमण भएको निश्कर्ष निकालेको छ ।

३ दलको बैठकले यसविरुद्ध प्रतिवाद गर्ने निर्णय समेत निकालेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि जानकारी गराएका छन् । सरकारको उक्त कदमको प्रतिवादको मोडालिटी भने मंगलबार तीनवटै पार्टीको केन्द्रीय कमिटीमा छलफल गरिने छ । त्यसपछि साझा धारणा बनाएर जाने निचोडमा समेत आजको बैठक पुगेको छ ।