मनोरञ्जन

पाथिभरा मन्दिर आगोलागीको जोखिममा, हेलिकोप्टरबाट पानी खन्याइयो

काठमाडौं । पूर्व नेपालको चर्चित धार्मिक गन्तब्य ताप्लेजुङको पाथिभरा यतिबेला आगोलागीको उच्च जोखिममा परेको छ । एक सातायता शुरु भएको डेडलो नियन्त्रणमा आउन नसकेपछि मन्दिर र यस आसपासका संरचना जोगाउनै चूनौति थपिएको छ । प्रहरीका अनुसार सोमबार मन्दिरमै आगो पुग्ने जोखिमपछि सिम्रिक एयरको हेलिकप्टर मगाएर आकासबाट पानी खन्याइएको छ ।

आकासबाट पाँच पटकसम्म पानी खन्याइएको थियो । यसले आगो मूख्य मन्दिरतर्फ अगाडी बढ्न नपाएको बताइएको छ । अहिले ताप्लेजुङको पाथीभरा मन्दिर सुरक्षित रहेपनि जोखिममुक्त भने नभइसकेको बताइएको छ । मन्दिर आसपासको जङ्गलमा बिहीबारदेखि नै डडेलो शुरु भएको हो । हेलिकप्टरले जोरपोखरीबाट पानी लगेर मन्दिर परिसरमा खन्याएको थियो । यसले आगो मन्दिरसम्म पुग्न पाएन ।

हेलिकोप्टरबाट मङ्गलबार पनि पानी खन्याइने भएको छ । त्यसका लागि हेलिकोप्टरलाई सुकेटार विमानस्थल मै राखिएको छ । स्थानीयबासी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो निभाउने प्रयास गरिरहेको भए पनि सफलता प्राप्त हुन सकेको छैन । नजिकमा पानीको स्रोत नभएका कारण पनि समस्या बढेको बताइएको छ ।