मनोरञ्जन

आज पुसे १५, छुट्टाछुट्टै समुदायले विभिन्न पर्व मनाउँदै

काठमाडौं । नेपालमा पुसे १५ को विशेष महत्व छ । १५ पुुसका दिन नेपालमा सबैजसो समुदाय तथा जातिले छुट्टाछुट्टै महिमाका साथ यो पर्व मनाउँछ । आज मंसिर पूर्णिमा अर्थात् धान्य पूर्णिमा समेत हो । ब्रामण तथा क्षेत्रीहरुमा अधिकांशको आज कुल पूजा हुने गर्छ । आजको दिन नेवार समुदायले धान्य लक्ष्मीको प्रतिमा स्वरूप योमरीको पूजा गर्ने प्रचलन रहेको छ ।

प्रकृतिपूजक किरातहरूले यस दिलाई उधौली पर्वका रुपमा मान्ने गरेका छन् । त्यसो त हरेक वर्ष पुस १५ मा गुरुङ जातिको ल्होछार पर्व समेत आज नै परेको छ । आजको दिनबाट दिन लामो र रात छोटो हुन्छ ज्योतिषीय मान्यता रहेको छ । साथै आजबाट चिसो क्रमशः कम हुँदै जाने र तापक्रम बढ्ने विश्वास समेत लिइन्छ ।

नेपाल कृषिप्रधान मुलुकमा धान भित्र्याइसकेपछि फुर्सदिलो बनेका किसानहरुले पूर्णिमाको पवित्र दिन या रातमा विभिन्न नाच एवं पर्व मनाउने गर्छन् । पुस १५ भने गुरुङहरूको नयाँ वर्ष हो । सोहीकारण आज ल्होछार मनाइने गरेको छ । यता, धान्य पूर्णिमालाई गण्डकी प्रदेशमा समेत विभिन्न जातिहरुको साझा पर्वको रुपमा मान्ने प्रचलन छ ।

त्यहाँका मगर समुदायमा यो दिन जीवनसाथी रोज्ने पर्वको रूपमा प्रचलित छ । मगर समुदायमा भ्यालेन्टाइन डे जस्तै दिनका रुपमा यो दिनलाई चिनिन्छ । धान्य पूर्णिमाका दिन धान नाच गरिन्छ । धान्य पूर्णिमाको जुनेली रातमा कर्णालीको एउटा विशेष क्षेत्रमा मनाइने संस्कृतिका रुपमा धाननाच प्रख्यात छ । यसलाई दैलेखको दुल्लुस्थित कर्णाली नदीको फाँटमा नाच्ने गरिन्छ ।