समाचार

अब लाइसेन्स परीक्षामा समेत अंकभार, हजारौं चालक लाभान्वित हुने

काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षामा सानो गल्तीका कारण समेत फेल हुने अवस्था हट्ने भएको छ । लाइसेन्स सम्बन्धी निर्देशिका परिवर्तन गर्दै सरकारले अंकभार ल्याउने तयारी गरेको हो । अब प्रयोगात्मक परीक्षामा ६० प्रतिशत अंक प्राप्त गर्ने चालकलाई पास गराइने भएको छ ।

प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा प्रयोग गरिने विभिन्न प्राविधिक ‘प्यारामिटर’लाई निश्चित अंकभर दिएर पूर्णाङ्क कायम गरिने भएको छ । ट्रायल परीक्षा दिने बेला उत्तीर्णाङ्क ल्याएमा पास गराइने भएको छ ।

अहिले प्रयोगात्मक परीक्षा दिँदा सडकमा राम्रो सवारी चलाउन सक्ने चालक समेत सबै प्याराममिटर सजिलै पार गर्न नसक्दा फेल हुने गरेका छन् । यसले चालकहरु प्रभावित बनेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नयाँ निर्देशिकाको तयारी गरेको हो ।

मन्त्रालय स्रोतलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाए अनुसार अब प्रयोगात्मक परीक्षाका गाह्रो मानिने प्यारामिटरलाई बढी अंकभार दिइने भएको छ । सजिला प्याराममिटरले कम अंकभार पाउने छन् । यसरी पूर्णाङ्कमा कम्तिमा ६० अंक प्रतिशत ल्याएमा चालक अनुमतिपत्र प्राप्त गर्नेछन् ।