फिचर

६ महिनामा मात्र १४.४ प्रतिशत पूँजिगत खर्च

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मात्र १४.४ प्रतिशत मात्र पूँजिगत खर्च भएको छ । सरकारको प्राथमिकता विकास निर्माणका काम नपर्दा पूँजीगत (विकास) खर्च दयनीय देखिएको हो । साउन देखि पुससम्म ६ महिनामा ५० अर्ब ८१ करोड रुपैयाँ पूँजिगत खर्च भएको छ । चालु आर्थिक वर्षमा पूँजिगत खर्चको लक्ष्य ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ रहेको छ ।


यो खर्च गत वर्षयसै अवधिको तुलनामा १३ अर्ब कम हो । गत आर्थिक वर्षको पहिलो ६ महिनामा पूँजिगत खर्च ६३ अर्ब १४ करोड रुपैयाँ रहेको थियो । ६ महिनाको अवधिमा चालु तर्फको खर्च भने घटेको छैन । यसअवधिमा कुल ३ खर्ब ४२ अर्ब ३५ करोड रुपैयाँ चालु खर्च भएको देखिएको छ । यो रकम लक्ष्यको ३६.०८ प्रतिशत हो ।

यस आवमा सरकारले ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ चालु खर्चको लक्ष्य राखेको छ । पहिलो ६ महिनामा कुल सरकारी खर्च भने २८.१९ प्रतिशत पुगेको छ । यस अवधिमा वित्तीय व्यवस्थातर्फ १३.०६ प्रतिशत प्रगति भएको छ । ६ महिनामा २२ अर्ब ५७ करोड रुपैयाँ वित्तीय व्यवस्थातर्फ खर्च भएको छ । राजस्व संकलनतर्फ एकै दिन ३३ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार ६ महिनाको अवधिमा राजस्व संकलन ४ खर्ब २२ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । मंगलबार सम्म राजस्व संकलन ३ खर्ब ८८ अर्ब ५१ करोड रहेको छ । यो वर्ष सरकारले १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ राजस्वको लक्ष्य राखेको छ ।