स्वास्थ्य

वुहान पुग्यो डब्लूएचओको टोली, कोरोना उत्पत्तीबारे अनुसन्धान गर्ने

वुहान । कोरोना भाइरसको उत्पत्तीबारे अध्ययन गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को टोली चीन पुगेको छ। चीनको वुहानबाट पहिलो पटक कोरोना देखिएको हो । डब्लुएचओको टोली बिहीबार बिहान चीन पुगेको बिबिसीले उल्लेख गरेको छ ।

१० सदस्यीय वैज्ञानिकको टोलीले सुरूमा महामारी फैलिएको क्षेत्रका अनुसन्धान संस्थान, अस्पताल र सिफुड बजारका मानिसहरूसँग अन्तर्वार्ता लिने भएको बताइएको छ । टोलीमा अमेरिका, अष्ट्रेलिया, जर्मनी, जापान, बेलायत, रूस, नेदरल्यान्ड, कतार र भियतनामका विज्ञ र वैज्ञानिक सहभागी रहेको बताइएको छ ।

कोरोनाभाइरसको संक्रमण पहिलो पटक सन् २०१९मा चीनको वुहानमा भेटिएको हो । अनुसन्धान बढाउनुअघि डब्लुएचओको टोली दुई हप्ता क्वारेन्टिनमा बस्ने समेत समाचारमा उल्लेख छ । चीनले डब्लुएचओबाट खटिएको उक्त टोलीका सदस्यहरूको भिसा स्वीकृत नभएको भन्दै प्रवेश लामो समय रोकेको थियो । चीन विश्वमा तुलनात्मक रुपमा सफल रुपमा कोरोना भाइरस नियन्त्रण गर्न सफल मुलुक हो ।