स्वास्थ्य

रगत र प्लेट्लेट्स गरी १० महिनाको अवधिमा २३ पटक दान; इच्छाशक्ति भए सम्भव

अर्जुन मैनाली, न्यूयोर्क

साधारणतया रक्तदानको माध्यमबाट कोरोना भाईरस सर्दैन । किनकी यो श्वास प्रश्वासको माध्यमबाट सर्दछ । सम्भावित रक्तदाता अर्कै सहर वा राज्यबाट आएको भए दुई हप्ता रक्तदान नगर्न भनिन्छ । कोरोना लागेका शंकास्पद ब्यक्तिसँग संपर्क भएकालाई पनि रक्तदान नगर्न भनिन्छ । मुखमा मास्क लगाइ राख्न र छिन-छिनमा साबुन पानीले हात धुन लगाइन्छ । यसरी भाईरस बिरुद्ध धेरै सावधानि अपनाइएको हुन्छ । कोरोना महामारी सुरु भएयता करोडौले रक्तदान गरी सकेका छन । त्यत्तिकै परिमाणमा बिरामीहरुले रक्तसन्चार गरी सकेका छन । कुनै पनि बिरामीलाई रक्तसन्चारकै कारणले कोरोना रोग लागेको भन्ने तथ्य आएको छैन ।

रक्तदान गर्नका लागि देशै पिच्छे फरक फरक नियमहरु छन । अमेरिकामा ५० किलो तौल भएका, १६ बर्ष भएकाले अभिभावकको सहमतिमा रक्तदान गर्न सक्छन । १७ बर्षदेखि ७५ बर्षसम्मकाले स्वविवेकले रक्तदान गर्न सक्छन । ७५ बर्षभन्दा माथिकाले डाक्टरको स्विकृति लिएर रक्तदान गर्न सक्छन । नेपालमा ४५ किलो तौल भएका, १८ बर्षदेखि ६५ बर्षसम्मकाले रक्तदान गर्न सक्छन । रक्तदान गर्न जानु भन्दा अगाडि खाना खाएको हुनुपर्छ । बिगत २४ घण्टामा प्रसस्त पानी पिएको हुनुपर्छ । साधारणतया हाम्रो शरीरमा करिव ७० प्रतिशत तरल पदार्थ हुन्छ । यसलाई सन्तुलन गरी राख्न दिनहुँ आफ्नो शरीरको तौलको ४-५ प्रतिशत तरल पदार्थ पिएको हुनुपर्छ । यदि तीन प्रतिशत पनि तरल पदार्थ पिएको छैन भने, त्यस्तो अवस्थामा हाम्रो शरीरमा शुक्खा भई सकेको हुन्छ । त्यसै पनि कमजोरी महसुस हुनसक्छ । त्यस्तो अवस्थामा रक्तदान गर्दा शरीरमा थप शुक्खा हुन गई रिङ्गटा लाग्ने कमजोरी अनुभव हुनसक्छ । अनि रक्तदान गरेका कारण केही चक्कर, हल्का टाउको दुख्ने, कमजोरी भएँ भन्ने लाग्न सक्छ । यसैले रक्तदान गर्नु भन्दा अगाडि उपरोक्त कुरामा ध्यान दिनु पर्छ । तर लामो समयसम्म रक्तदान गरी राख्नुहुनेहरुलाई छोटो अबधिको लागि एनिमिया, तिर्खा लाग्ने, थाकेको महसुस हुन सक्ने खतरा हुन सक्छ ।

रक्तदान गर्दैमा मानव शरीरको प्रतिरक्षा प्रणालिमा कमजोर हुँदो रहेनछ । किनकी शरीरले तुरुन्तै प्रतिरक्षा प्रणालिहरुलाई प्रतिसथापन गर्दछ । यो कोरोना महामारिमा रक्तदानको बिषयमा मसँग ठुलो अनुभव रहेको छ ।


न्यूयोर्क सहर कोरोना रोगले अस्तब्यस्त भएको बेलामा एप्रिल २४, २०२० मा मैले पहिलो पटक रक्तदान गरेको थिएँ । त्यस यता जनवरी १२, २०२१ सम्मको १० महिनाको अबधिमा २३ पटक (४ पटक रगत र १९ पटक प्लेट्लेट्स) दान गरेछु । हरेक पटक रक्तदान गर्न जाँदा रक्तदाताको रक्तचाप, नाडी धड्कन, तापक्रम, रगतमा लौह तत्व जाँच गरिन्छ । यो दश महिनाको अबधिमा मेरो शरीरबाट ११.५ लिटर रगत र रक्ततत्व निकालेको छ । मेरो शरीरमा कुनै कमजोरीपन वा बिमारी भएको छैन । मेरो आफ्नो दैनिकी काममा पनि कुनै कमी छैन । हुन त यसरी रक्तदान गर्नु त्यो पनि विषम अवस्थामा, जुन चानचुने प्रयास थिएन । तर मैले यस्तो बेला रगतको अभाव हुन् भन्ने पढ्को थिएँ । मेरो अनुभवका आधारमा सम्भावित रक्तदाताहरुलाई कम्तिमा पनि बर्षको एक पटक रक्तदान गरौ भन्न खोजेको मात्र हुँ । धेरै देशका बिरामीहरुले रगत नै नपाएका कारण हामीले धेरै समाचार सुनेका छौ । विश्व स्वास्थ्य संगठनले हरेक देशमा बिरामीहरुले सजिलै रगत पाउन त्यस देशको जनसंख्याको करीब दुई प्रतिशत नागरिकले रक्तदान गर्नै पर्छ भनेको छ । यस अर्थले तपाईं सबै युवाहरुमा कम्तिमा बर्षको एक पटक रक्तदान गर्नु हुन अनुरोध गर्दछु ।

कोरोना महामारीको चरम अवस्थामा गरिएको रक्तदान