विश्व

सुडानमा आतंकवादी आक्रमण, कम्तिमा ८३ जनाको मृत्यु

काठमाडौं । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिसियाको आक्रमणमा कम्तिमा ८३ जनाको ज्यान गएको छ । सुडानी राज्य सञ्चालित समाचार संस्था (सुना न्यूज एजेन्सी)लाई उदृत गर्दै राष्ट्रिय समाचार समितिले जनाए अनुसार शनिबारबाट शुरु भएको झडपमा यो हताहती भएको हो । झडपमा अन्य एक सय ६० जना घाइते भएको बताइएको छ ।

यसको पुष्टी अस्पताल तथा चिकित्सकले गरेका छन् । शनिबार बिहानदेखि एल जेनिना सहरमा भएका रक्तपातपूर्ण घटनाहरू अझै जारी रहेको समाचारमा जनाइएको छ । सुनाले पश्चिम डार्फर राज्यमा रहेको चिकित्सकहरूको समितिलाई उद्धृत गरी यस्तो जानकारी गराएको हो ।

सुरक्षा बल र मेडिकल सेवासहितको यातायात साधन उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको उक्त समितिले उल्लेख गरेको छ । पश्चिम डार्फरमा शनिबारदेखि चलेको यस घटनालाई नियन्त्रणमा लिन स्थानीय अधिकारीहरूले निषेधाज्ञा जारी गरेका छन्।
एजेन्सी