विज्ञान प्रविधि

भारतले अनुदानमा दिएको खोप आज हस्तान्तरण गरिँदै

काठमाडौं । भारतले नेपालसहित आफ्ना छिमेकी मुलुकका लागि करोडौं डोज खोप अनुदानमा निशुल्क उपलब्ध गराउँदैछ । यसको पहिलो किस्ता आज काठमाडौं आउने भएको छ । काठमाडौंमा भारतीय राजदुतले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गर्ने कार्यक्रम राखिएको छ ।

भारतीय विदेश मन्त्रालयले मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै भुटान, माल्दिभ्स, बंगलादेश, नेपाल, म्यानमार र सिसेल्सलाई अनुदानमा खोप दिन लागेको पुष्टी गरेको थियो । भारतीय विदेश मन्त्रालयका अनुसार आज र भोली सबै मुलुकमा खोप हस्तान्तरण भइसक्ने छ ।

भारतमा अहिले कोरोनाविरूद्धका दुई खोप उत्पादन भएको छन् । भारतले भने अघिल्लो शनिबार बाटै खोप लगाउन शुरु गरेको हो । भारतमा अक्सफोर्ड विश्वविद्यालय र अष्ट्रेजेन्काले विकास गरेको खोप सेरम इन्स्टिच्युट इण्डियाले उत्पादन गरिरहेको छ ।

भारत वायोटेकको अर्को भ्याक्सिन भने भारतमै उत्पादन भएको हो । यसअघि नेपाल सरकारले अक्सफोर्ड, अष्ट्राजेन्काको भ्याक्सिनलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । भारतले नेपालमा पहिलो चरणमा १० लाख डोज अनुदान स्वरुप दिने बताएको छ ।

यो अनुदानमा उपलब्ध हुनेछ । त्यसपछि भने सरकारले रकम तिरेर किन्नु पर्नेछ । नेपालमा पहिलो पंक्तिमा रहेर कोरोनासँग लड्ने चिकित्साकर्मीलाई सबैभन्दा पहिले खोप दिइने भएको छ ।