विश्व

दक्षिण कोरियामा कोरोना खोप निःशुल्क, हजारौं नेपाली लाभान्वित

सोल । दक्षिण कोरियाले सो मुलुक भित्र रहने सबै नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप निशुल्क उपलब्ध गराउने भएको छ । दक्षिण कोरियाली रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले यस्तो घोषणा गरेका हुन् ।

उनको घोषणासँगै यस मुलुकमा रहेका हजारौं नेपाली नागरिक समेत लाभान्वित हुने भएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा कोरियामा करीव ५० हजार नेपाली पुगेका छन् ।


यसअघि भने कोरियाले स्वदेशी नागरिकलाई मात्र निःशुल्क प्रदान गर्ने बताएको थियो । तर, नयाँ निर्णय सार्वजनिक गर्दै कोरियाले विदेशीको हकमा समेत यो नियम लागु हुने बताएको छ ।

कोरियामा आगामी महिनादेखि खोप अभियान शुरु हुँदैछ । खोपको पहिलो प्राथमिकतामा अग्रमोर्चामा रहने स्वास्थ्यकर्मी हुनेछन् । वृद्ध, बालबालिका, अशक्त, अपाङ्गता भएका व्यक्तिलाई समेत पहिलो प्राथमिकतामा राखिने भएको छ । त्यसपछि भने सबै नागरिकले यो सुविधा लिन पाउने छन् ।

अवैधानिक तवरले बस्ने तथा स्वास्थ बीमा नभएका विदेशी नागरिकको हकमा सरकार बोलेको छैन । कोरियामा भिसा अवधि पुरा भएपछि पनि अवैधानिक रुपमा ठूलो संख्यामा विदेशी बसेको अनुमान छ ।