फिचर

बेलायतबाट नेपाली र एनआरएन शर्तसहित नेपाल आउन सक्ने

काठमाडौं । सरकारले बेलायतबाट शुरु उडान हुने वा ट्रान्जिट हुने गरी कुनै पनि यात्रु नेपाल आउन नपाउने गरी नियम ल्याएको छ । तर, शर्तसहित नेपाली नागरिक र गैरआवासीय नेपाली र उनीहरुका आफन्त भने अब नेपाल आउन सक्ने भएका छन् ।

अध्यागमन विभागका अनुसार नेपालमा नेपालीको एकाघरका आफन्तको मृत्यु भएमा वा गम्भीर प्रकृतिको बिरामी भई उपचार गराउनु परेमा बेलायतस्थित नेपाली दूतावासको सिफारिसमा नेपाल आउन अनुमति दिइने भएको छ । यही प्रावधान गैरआवासीय नेपालीको हकमा समेत लागु हुने छ ।

यसरी नेपाल आउने क्रममा ७२ घण्टा भित्रको पिसिआर परीक्षण भने अनिवार्य गरी नेगेटिभ रिर्पोट ल्याउनु पर्छ । यसले आफन्तको मृत्यु भएका वा गम्भिर बिरामी भएकाहरुलाई घर फिर्ति हुन सहज भएको छ ।

बेलायतमा कोरोनाको नयाँ प्रकृतिको भाइरस देखिएपछि सरकारले यात्रामा रोक लगाउने निर्णय गरेको हो । त्यसो त सरकारले रोक लगाउनु अगाडी नै बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ भाइरसको संक्रमण पुष्टी भएको छ । उनीहरुको स्वास्थ्य भने सामान्य रहेको छ ।