समाचार

सरकारको कदमविरुद्ध आज कांग्रेसले ६७४३ वडामा प्रदर्शन गर्दै

काठमाडौं । संसद विघटन गरी निर्वाचनमा जाने सरकारको निर्णयको विरोधमा आज नेपाली कांग्रेसले देशभर प्रदर्शन गर्दैछ । आज वडास्तरमा प्रदर्शनको कार्यक्रम राखिएको छ । देशभर रहेका ६७४३ वडामा आज विरोध प्रदर्शन हुने नेपाली कांग्रेसले जानकारी दिएको छ ।

संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको कांग्रेसका नेताहरु भने निर्वाचनमा जान इच्छुक देखिएका छन् । विरोध कार्यक्रमका दौरान सभापति देउवा पक्षधर नेताले भने निर्वाचनको माहौल बनाउन कार्यकर्तालाई निर्देशन दिने गरेका छन् ।

नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरेको छ । वडा स्तरीय प्रदर्शनमा घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन सभापति शेरबहादुर देउवाले आह्वान गरेका छन् ।