फिचर

इजरायलमा ५ सय नेपाली श्रमिकले रोजगारी पाउने, प्रोटोकलमा हस्ताक्षर

काठमाडौं । इजरायलमा ५ सय नेपाली श्रमिकले रोजगारीको अवसर पाउने भएका छन् । आज नेपालले इजरायलसँग गर्ने प्रोटोकलमा हस्ताक्षर गरिएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र नेपालका लागि इजरायलका राजदूत खनान गोडेरबीच प्रोटोकलमा हस्ताक्षर भएको हो ।

यसअघि १४ असोजमा नेपालबाट श्रमिक आपूर्ति गर्ने सम्बन्धमा नेपाल र इजरायलीच श्रम सम्झौता भएको थियो । यस मुलुकमा ५ सय नेपाली केयर गिभरले रोजगारी पाउने भएका छन् ।

पछिल्लो सम्झौतासँगै इजरालयमा केयर गिभरका रुपमा श्रमिक लैजाने सम्बन्धमा आन्तरिक कार्यविधि बन्ने छ । त्यसपछि विज्ञापन प्रकाशित गरी आवेदन माग हुनेछ । इजरायलमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष केयर गिभर लैजाने सहमति भएको छ ।

उनीहरुको न्युनतम तलब १५ सय डलर हुने बताइएको छ । त्यसबाट ३१० डलर भने खाना र आवास सुविधाबापत रोजगारदाताले काट्नेछ ।

एसएलसी उत्तीर्ण गरेर १५ महिने स्वास्थ्य सेवासम्बन्धी विषय पढेका वा १२ कक्षा पास गरी तीनमहिने केयर गिभर तालिम लिएका, अंग्रेजी र हिब्रु भाषा बोल्न सक्नेले इजरायलमा रोजगारीको अवसर पाउने भएका छन् ।

इजरायल जाने श्रमिकले भिसा शुल्क, मेडिकल शुल्क, टिकट, बिमा लगायत खर्च भने आफैंले ब्यहोर्नुपर्नेछ ।