डायस्पोरा

अमेरिकामा नेपाली सिकाउने एएनएचएस एकेडेमीको पाँचौ बार्षिकोत्सब सम्पन्न

कल्पना घिमिरे/भर्जिनिया

अमेरिका नेपाल सहयोगी समाजद्धारा सञ्चालित अमेरिका नेपाल शिक्षा सदन (एएनएचएस एकेडेमी)ले आइतबार आफ्नो पाँचौ बार्षिकोत्सब सम्पन्न गरेको छ । भर्जिनिया राज्यको मनाससस्थित सञ्चालित एकेडेमीले अमेरिकामा बसोबास गरिरहेका नेपाली बालबालिकालाई मौलिक नेपाली संस्कृति, परम्परा र नेपाली भाषा सिकाउने उदेश्यले नेपाली भाषा कक्षा सञ्चालन गर्दै आएको हो । बिगत वर्षहरुमा कक्षाकोठामै शिक्षण गर्दै आएको एएनएचएस एकेडेमीले अमेरिकामा कोभिड १९ को महामारी पछि जुम मार्फत अनलाइन कक्षा सञ्चालन गरिरहेको छ । अमेरिकाको स्कुलमा अध्ययनरत नेपाली बालबालिकाको बिदाको दिन पारेर हरेक आइतबार नेपाली कक्षामा सहभागी गराएर पढाउने गरिएको छ ।

सन् २०१६ मा १०/१२ जना विद्यार्थी र एक शिक्षिकाबाट सुरु गरिएको एकेडेमीमा हाल १०० भन्दा बढी बिद्यार्थी र १०/१२ जना शिक्षक शिक्षिका सक्रिय छन् । कोभिड १९ को महामारी अघिसम्म स्थानीय स्कुलमै कक्षाकोठाहरु भाडामा लिएर कक्षा सञ्चालन गरिँदै आएको थियो । कोभिड १९ ले अमेरिकालाई निकै प्रभावित बनाएपछि स्थलगत कक्षा बन्द गरेर अनलाइन शिक्षणको ब्यवस्था मिलाएको हो ।

एकेडेमीले हाल बिभिन्न ४ समुहमा बिभाजन गरी बिद्यार्थीलाई पढाइरहेको छ । ६ वर्षसम्मका बालबालिकालाई आधारभुत सिकाइका लागि अन्नपूर्ण कक्षा, ८ वर्ष सम्मका बालबालिकालाई मध्यमतहको सिकाइका लागि कन्चनजंगा कक्षा, १० वर्ष सम्मका बालबालिकालाई उच्च तहको सिकाइका लागि सगरमाथा कक्षा र ६ वर्ष भन्दा माथि उमेरका आधारभुत ज्ञानसमेत नभएका बालबालिकाको लागि ब्रिजकोर्स कक्षा सञ्चालन भइरहेको छ । भर्जिनिया राज्यसंगै न्युर्योक, न्यूजर्सी, नर्थ क्यारोलिना लगायत अन्य राज्यका बालबालिका पनि अनलाइन कक्षामा जोडिएका छन् ।

बार्षिकोत्सब सम्पन्नसंगै यस वर्षको शैषिक सत्र सकिएको छ । एकेडेमीले आगामी मार्च महिनाको पहिलो आइतबारदेखि नयाँ शैक्षिक सत्र सुरु गर्नेछ । एकेडेमीले आफैँ पुस्तक प्रकाशन गरेर विद्यार्थीलाई निशुल्क पुस्तक वितरण गर्दै आएको छ । बिद्यार्थीलाई कक्षामा सहभागी हुन प्रोत्साहन मिलोस भनेर ‘स्टुडेन्ट अफ द मन्थ’, ‘स्टुडेन्ट अफ द इयर’ कार्यक्रम राखेर पुरस्कारहरु बितरण गर्ने गर्दछ ।

कार्यक्रममा जुम मार्फत सहभागी नेपाल सरकार शिक्षा, बिज्ञान तथा प्रबृधि मन्त्रालयका सचिब तथा शिक्षाबिद् गोपीनाथ मैनालीले बिदेशमा बसेर पनि आफ्नो भाषा संस्कृति जोगाउन गरेको नेपाली समाजको योगदानको खुलेर प्रंससा गरे । ब्यक्तिगत तर्फबाट र सरकारको तर्फबाट आफुले गर्न सक्ने सहयोग गर्न प्रतिवद्ध रहेको पनि बताए । कार्यक्रममा बोल्दै सचिब मैनालीले भने, ‘नेपाल भन्दा बाहिर रहेर पनि माटो र मुटुको सम्बन्ध कायम गर्न, आफ्नो संस्कृति र पहिचान जोगाइरहन गरेको कार्य अति नै सराहनीय छ । नेपाली भाषा संस्कृति, पहिचान विश्वसामु फैलाउने एएनएचएस एकेडेमी परिवारप्रति बिशेष धन्यबाद ब्यक्त गर्दछु ।’

बालबालिकाका अबिभावकहरुले मनैदेखि सहयोग र साथ दिएकाले आज यतिको सफलता हाँसिल भएको अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष केदार तिम्सिनाले बताए । ‘अबिभावकको साथ, शिक्षकहरुको निरन्तरको खटाइ र बालबालिकाको सक्रियताले आज हामी ५ औं बार्षिकोत्सब मनाउन सफल भएका हौं,’ उनले भने  ‘एकेडेमी परिवारले आँफैले पाठ्यक्रमको करिकुलम बनाएर बालबालिकाका लागि सहज हुने किसिमको पुस्तक प्रकाशन गरेको हो । लेखक शिब लामिछानेले बालबालिकाको सिकाइमा प्रयोग भइरहेको पाठ्यपुस्तक तयार पारेका हुन् । अनलाइन कक्षा सञ्चालन गर्नका लागि प्राबिधिक रुपमा सक्रिय शिब तिम्सिना लगायत सम्पूर्ण एकेडेमी परिवारकै मेहनत र लगनशिलताले नेपाली भाषा कक्षालाई निरन्तरता दिन सकिएको हो ।’