मनोरञ्जन

सेनाले सगरमाथासहित ६ हिमालमा सफाई अभियान चलाउने

काठमाडौं । नेपाली सेनाले नेपालका ६ वटा हिमालमा सफाई अभियान चलाउने भएको छ । सफा हिमाल अभियान अन्तर्गत सन् २०२१ मा ६ वटा हिमालबाट फोहोर संकलन गर्ने योजना रहेको सेनाले जनाएको छ । सन् २०१९ मा सगरमाथाबाट ५ टन फोहोर संकलन गरेको सेनाले यसपटक ६ वटा हिमालबाट ३५ टन फोहोर संकलन गर्न लागेको जनाएको छ ।

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार यसपटक सगरमाथा, ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आमादम्बलम हिमालको सरसफाइ गरिने छ । ती हिमालको बेस क्याम्पभन्दा माथिबाट मात्रै १८ टन फोहोर ल्याउने उद्देश्य रहेको सेनाले जनाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्का अनुसार सेनाले अभियानको एकीकृतरुपमा अगुवाइ गर्नेछ । यसमा नेपाल पर्यटन विभाग, योजना तथा अनुगमन महाशाखा, नेपाल पर्यटन बोर्डसहित विभिन्न निकायसँग सहकार्य हुनेछ ।

‘मानव स्रोत र बेस क्याम्पको व्यवस्थापन र अनुगमनसँगै हवाई साधनबाट बन्दोवस्तीका सामान तथा जम्मा भएका फोहोर ओसार्ने काम सेनाले गर्ने भएको छ । हिमाल सफाइ अभियानको पहिलो चरणमा हाल पूर्वतयारी र समन्वय भइरहेको छ ।

दोस्रो चरणमा चैत १ देखि २६ सम्म एक्लिमटाइजेसन तालिम सञ्चालन गरिने भएको छ । चैत २१ देखि जेठ २२ सम्म सरसफाइ अभियान चलाइने सेनाले जनाएको छ । सेनाका अनुसार सगरमाथामा मात्रै एक लाख ४० हजार टन फोहोर, ४० टन मानवीय फोहोर र ३ सय बढी आरोहीका मृत शरीर रहेको अनुमान छ ।