समाचार

असन्तुष्ट पक्षलाई संवादका माध्यमबाट मूलधारको राजनीतिमा आउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्ट पक्षलाई संवादका माध्यमबाट मूलधारमा आउन आग्रह गरेका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिंसात्मक गतिविधि गरिरहेका तत्वहरुलाई शान्तिपूर्ण मूलधारमा आउन आग्रह गरेका हुन्। उनले विप्लव समूहलाई सरकारी वार्ता टोलीसँग संवादमा आउन आग्रह गरे।

लोकतन्त्र आइसकेपछि पनि अन्य बाटोबाट अघि बढ्न सकिन्छ भन्ने तथा रोज्ने प्रवृत्ति कायम रहेको उल्लेख गर्दै उनले नेपाली जनता त्यस्ता कुराबाट सतर्क हुनुपर्ने बताए । ‘शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन तथा अझै पनि यसधारमा समाहित नभइसकेका वा हुन नसकिरहेको पक्षलाई म यस अवसरमा संवादका माध्यमबाट शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन आग्रह गर्दछु’, उनले भने ।

बृहत्तर राष्ट्रिय हित र लोकतन्त्रको पक्षमा एक भएर अगाडि बढ्नुको बिकल्प नभएको उल्लेख गर्दै उनले कुनै पनि अलमलमा नपरी विगतका बलिदानलाई सम्झेर अगाडि बढ्न अपिल गरे । ‘सानातिना मतभेदलाई छाडेर बृहत्तर हित र स्वार्थमा एकताबद्ध भएर अगाडि बढौँ’, राष्ट्रिय एकतामा जोड दिँदै उनले भने ।

प्रधानमन्त्री ओलीले जनसङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै नेपाललाई एकजुट बनाएर आगामी दिनमा सुन्दर भविश्य रचना गर्ने साझा प्रयास अगाडि बढाउनुपर्ने र त्यसका लागि हाम्रा चिन्तन र व्यवहार राष्ट्रिय हितमा केन्द्रित हुनुपर्नेमा जोड दिए । ‘जनताको आकांक्षा सम्बोधन गर्ने दिशामा आगामी कदम अगाडि बढ्नुपर्छ’, उनले भने, ‘राष्ट्रलाई एकताबद्ध बनाएर अगाडि बढ्न म सबैलाई आग्रह गर्दछु ।

सो समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी ,उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरु,सांसदहरु, कूटनितिक नियोगका प्रमुखहरु लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो।

नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी लगायतका विभिन्न संघस्थाले मार्चपास, कवाज, व्याण्ड तथा विशेष झाँकीहरु प्रस्तुत गरेका थिए