विश्व

म्यानमारमा प्रदर्शनकारीमाथि प्रहरीले चलायो गोली, दुई जनाको मृत्यु

Photo : Sky News

म्यानमार । म्यानमारको सैन्य सरकारविरुद्धको आन्दोलन हिंसात्मक बनेको छ । शनिबार देशको दोस्रो सबैभन्दा ठूलो शहरमा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली चलाएका छन् । यस घटनामा कम्तीमा दुई जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीका अनुसार सुरक्षा कारबाहीमा दुई व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ ।

आक्रोशित प्रदर्शनकारीको भीड नियन्त्रण गर्न गोली चलाएको सरकारको दावि छ । घटनामा करिब ३० जना घाइते छन् । घाइतेमध्ये अधिकांश व्यक्तिलाई प्रहरीले सिधै गोली हानेको प्रत्यक्षदर्शीको दावि छ । मृतकमध्ये एक जना किशोर हुन् । उनको टाउकोमा गोली लागेको छ । म्यानमारमा केही हप्ता पहिले निर्वाचित सरकारलाई सैनिक शासकले ‘कू’ गरी हटाएका थिए । त्यसको विरोधमा प्रजातन्त्र समर्थकले आन्दोलन चर्काएका छन् ।