मनोरञ्जन

पशुपतिमा सुनको जलहरी लगाउन क्षमापूजा शुरु, भारतबाट बोलाइयो २५ ब्राह्मण

काठमाडौं । पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको जलहरी राख्ने निश्चित भएको छ । सरकारले करीव १ अर्ब लगानीमा सुनको जलहरी राख्ने भएको हो । सुनको जलहरी राख्नुअघि चाँदीको जलहरी मर्मत गरिने छ । यसका लागि शनिबारबाट क्षमापूजा सुरु भएको राष्ट्रिय समाचार समितिले जनाएको छ ।

क्षमापूजा गर्न दक्षिण भारतबाट २५ ब्राह्मण नेपाल आएका छन् । क्षमापूजामा ९६ नेपाली ब्राह्मण र २५ जना भारतीय ब्राह्मण खटिएका हुन् । उनीहरुले शिव र शक्तिको आराधना सुरु गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई उदृत गर्दै राससले जनाएको छ ।

क्षमापूजा बुधबारसम्म जारी रहने भएको छ । अहिले रहेको चाँदीको जलहरी रणबहादुर शाहको शासनकालमा राखिएको हो । जलहरी जीर्ण भएर जल, पञ्चामृतलगायत पशुपतिनाथलाई चढाइएका सामग्री चुहिएर भित्रसम्म पुग्ने गरेको बताइएको छ ।

वर्षौंदेखि गर्न नसकिएको मर्मत गरी त्यसमाथि सुनको जलहरी राख्नुअघि क्षमापूजा गर्न लागिएको हो । चाँदीको जलहरी नहटाइने र मर्मत गरी त्यसमाथि सुनको राख्न लागिएको बताइएको छ । पशुपति क्षेत्रमै कालीगढ राखेर नेपाली सेनाको सुरक्षासहित सुनको जलहरी बनाउने काम जारी रहेको छ ।

मूल मन्दिरको जलहरी सुनको बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले ३० करोडको सुन नेपाल राष्ट्र बैंकमार्फत उपलब्ध गराएको हो । बाँकि रकम भने कोषले बेहोर्दै छ । सुनको जलहरी बनाउन १०८ किलो सुन लाग्नेछ ।