मनोरञ्जन

मिथिला महोत्सव अमेरिका २०२१ हुने

न्युयोर्क

मिथिला कला र संस्कृतिको प्रवर्द्धन एवम् मिथिला कलाको माध्यमबाट संयुक्त राष्ट्रसंघीय दिगो विकासको लक्ष्यलाई टेवा पुर्याउने उद्देश्यले मिथिला सेन्टर युएसएको आयोजनामा मिथिला महोत्सव अमेरिका हुने भएको छ ।
महोत्सव आगामी अप्रिल महिनाको १४ देखि १७ तारिखसम्म अमेरिकाको न्यूयोर्क शहरमा आयोजना गरिने छ । यस वर्षको मिथिला महोत्सवको मुल नारा “दिगो विकास लक्ष्यको लागि कला: मिथिला सम्पदा (Art for SDGs: the Mithila Heritage)” राखिएको छ।
यो कार्यक्रममा सहभागी हुन चाहने सबै ईच्छुक कलाकारहरुलाई यो वर्षको मुख्य नारालाई ध्यानमा राखी तयार पारिने आफ्नो चित्रकलाको नमुना र आफ्नो संक्षिप्त परिचय [email protected] मा ६ मार्च २०२१ सम्ममा पठाउन आयोजक तथा मिथिला सेंटर अमेरिकाका संस्थापक अमित शाहले अनुरोध गरेका छन् ।

कार्यक्रममा मिथिला राजा सलहेश जयन्ति समारोह, नव वर्ष तथा जुड़ शीतल चाड र मिथिला साहित्य सम्बन्धि कार्यक्रमहरू पनि समावेश गरिनेछ ।

संसारभर प्रख्यात मिथिला कलामा विशेषत; महिला आर्टिस्टहरुको योगदानले नैशताब्दीऔंदेखि अस्तित्वमा छ। घरको भित्तामा बनाइने चित्रकलाकालागि महिला आर्टिस्टहरु प्रख्यात छन् र सो सम्बन्धी ज्ञान उनीहरुबाट नै नयाँ पिढीहरुमा हस्तान्तरण हुँदैआएको छ ।

मिथिला कलाले पौराणिक र धार्मिक विषयहरुका अतिरिक्त सामाजिक टिप्पणी एवम् सिंगारसजावट सम्बन्धमा पनि प्रस्तुत गर्दछ । मिथिला चित्रकलालाई समकालीन र संकलनीय कलाको रुपमा हाल मान्यता दिईएको छ । महिला वा पुरुष आर्टिस्टका हातहरूले बनाएका कागजका तैलीय चित्रहरु (Canvas) माटोका भित्तामा बनाइएका चित्रहरु जस्तै छन् ।विश्वका विभिन्न आर्ट ग्यालरीहरुमा मिथिला चित्रकलाको प्रदर्शन भएको छ ।
कलाको थप महत्वको बारेमा संयोजक शाहले बताउँछन्; “यो कलाले ग्रामीण समुदायका विपन्न महिलाहरुकालागि आयआर्जनको श्रोत बढाउनुका साथै नयाँ किसिमको घरेलु उद्योग फस्टाउने संभावना समेत बढाएको छ ।”