समाचार

आजबाट दोस्रो पटक मेलम्चीको सुरुङको परीक्षण हुँदै

काठमाडौं । आज मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण गरिने भएको छ । साढे २६ किलोमिटर लामो सुरुङमा आजबाट पानी पठाइने छ । आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न शुरु गरिने आयोजनाको तयारी छ । खानेपानी मन्त्री मणि थापा आयोजना स्थलमा पुगी सुरूङमा पानी हाल्ने कामको उदघाटन गर्नेछन् ।

सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १५ देखि २० दिन लाग्ने बताइएको छ । प्रारम्भिक चरणमा सुरुङको क्षमताअनुसार भने पानी नछाडिने आयोजनाले जनाएको छ । यसअघि गत २९ असारमा सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो ।

हेलम्बु गाउँपालिकाको अम्बाथानमा अडिटको मुख्य गेट नं १७ फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालक बगाएर दुखदः दुर्घटना भयो । त्यसपछि परीक्षण रोकिएको थियो । रोकिएपछि चारजना विशेषज्ञले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच गरी मर्मतको काम भएको छ ।

विगतको जस्तो दुर्घटना नहोस् भनेर आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको समेत बताएको छ । परीक्षणका क्रममा हुन सक्ने सम्भावित दूर्घटनालाई मध्यनजर गरी हेलिकप्टर तयारी अवस्थामा राखिएको छ ।