फिचर

नेपाली सेयर बजारमा करेक्शन, नेप्से दोहोरो अंकले घट्यो

काठमाडौं । सेयर बजारमा करेक्शन आएको हो । गत सोमबारदेखि लगातार उकालो लागेको बजारमा आज दोहोरो अंकको गिरावट आएको हो ।

आइतबार इतिहासकै सर्वाधिक उच्च विन्दुमा २६४० विन्दुमा पुगेको बजार आज करिब ३३ अंकले गिरावट आएको हो । प्रफिट बुक गर्नेहरु हाबी हुँदा बजारमा करेक्शन आएको हो ।

सूचकमा ठूलो गिरावट आए पनि कारोबार रकममा भने खासै गिरावट आएको छैन । बजार घटेको बेला सस्तोमा सेयर उठाउनेहरु हाबी हुँदा कारोबार रकम उत्साहजनक नै रहेको छ ।

आज सेयर बजार मापक सूचक नेप्से ३२.६७ अंकले घटेर २६०७.६७ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०७ कम्पनीको ८ अर्ब ४० करोड ६३ लाख १० हजार ६७१ रुपैयाँ बराबरको २ करोड १६ लाख १४ हजार ४५२ कित्ता सेयर किनबेच भएका छन् ।

सोमबार कारोबारमा आएका १२ वटा समूहमध्ये अन्य र जलविद्युत समूह बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएका छन् । हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा धेरै ४५.८५ अंकले बढेको छ भने जीवन बीमा समूह सबैभन्दा धेरै ३५१.३४ अंकले घटेको छ ।

कारोबारमा आएका २०७ कम्पनीमध्ये जम्मा ४७ कम्पनीको सेयर मूल्य बढेको छ भने १५१ कम्पनीको मूल्यमा गिरावट आएको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज लगानीकर्ता एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको सबैभन्दा धेरै ३८ करोड २४ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक ३२ करोड र निर्धन उत्थन लघुवित्तको ३० करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

आज पनि हाइड्रोपावर समूहको सेयरमा चमक आएको छ । अन्य क्षेत्रका कम्पनीको मूल्य घटे पनि यस क्षेत्रका कम्पनीको मूलय भने बढेको छ ।

घट्दो बजारमा पनि आज ८ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आँखुखोला जलविद्युत कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

यसैगरी माथिल्लो तामाकोशी, नेशनल हाइड्रो डेभलपर, शिव श्री हाइड्रोपावर, चन्द्रागिरी हिल्स, सनराइज म्युचुअल फण्ड र खानीखोला हाइड्रोपावरका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

दोहोरो अंकले घटेको बजारमा आज सेञ्चुरी कमर्शियल बैंकका सेयरधनीले सबैभन्दा धेरै ५.५२ प्रतिशत गुमाएका छन् ।