विश्व

साउदीमा अब महिला पनि सेनामा भर्ति हुन सक्ने

Photo : Saudi times

काठमाडौं । साउदी अरबले सेनामा महिलालाई समेत समावेश गर्ने भएको छ । यो निर्णयलाई महत्वपूर्ण निर्णयका रुपमा समेत लिइएको छ । साउदीको रक्षा मन्त्रालयले सेनामा महिलाका लागि पनि भर्ती खोल्ने योजना सार्वजनिक गरेको हो । साउदी महिलाले साउदी अरेबियन आर्मी, रोयल साउदी एयर डिफेन्स, रोयल साउदी नेभी, रोयल साउदी स्ट्राटेजिक मिसाइल फोर्स र आर्म्ड फोर्सेस मेडिकल सर्भिसेजमा भर्तीका लागि आवेदन दिन पाउने भएका छन् ।

साउदी महिलालाई सिपाहीदेखि सर्जेन्टसम्मको पदमा भर्ती दिलाउने तयारी भएको हो । साउदी युवराज मोहम्मद बिन सलमानले भिजन २०३० इनिसियटिभ ल्याएका छन् । जहाँ महिलालाई अझ बढी उदार बनाउने योजना छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार सेनामा भर्ती हुन महिला २१ देखि ४० वर्षका हुनु पर्छ। १५५ सेन्टिमिटर उचाइ भएका र कुनै सरकारी जागिर नखाएका महिलालाई भर्ती लिइने छ । हाइस्कुल उत्तीर्ण गरेका र विदेशीसँग विवाह नगरेका युवतिले सेनामा प्रवेश पाउने छन् । एजेन्सी